काठमाडौं। लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) इतिहासमा नयाँ कीर्तिमान बनाएका छन्।
उनी लगातार चार खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार बिहान उनले दुई गोल गर्दै इन्टर मियामीलाई न्युएङ्ग्ल्यान्ड रिभोल्युसनविरुद्ध २–१ को जित दिलाए।
मियामीले पछिल्ला चार खेल लगातार जितेको छ र पाँचमा अपराजित छ। अहिले मियामीको लिगमा अंक तालिकामा १० जित, ३ हार र ५ बराबरीको नतिजासहित ३५ अंक जोडेको छ।
२७औं मिनेटमा न्युएङ्ग्ल्यान्डका डिफेन्डर ट्यानर बीसनले हेडर मिस गरेपछि मेसीले हाफ भलीमा गोल गर्दै मियामीलाई अग्रता दिलाए। ३८औं मिनेटमा सर्जियो बुस्केट्सले मिडफिल्डबाट दिएको बललाई दौडिँदै मेसीले पहिलो टचमै पेनाल्टी क्षेत्रको छेउबाट गोल गर्दै स्कोर २–० बनाए।
योसँगै मेसीले लगातार पाँचौं खेलमा गोल गरेका छन्। उनले १५ नियमित सिजन खेलमा १४ गोल र ७ एसिस्ट गरिसकेका छन्। हाल एमएलएसमा शीर्ष गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा छन्। नास्भिलका स्याम सुरिज १६ गोलसहित शीर्ष स्थानमा छन्।
न्युएङ्ग्ल्यान्ड पछिल्ला पाँच खेलसम्म जितविहीन छ। ७९औं मिनेटमा कार्लेस गिलले एक मात्र सान्त्वना गोल गरे। गोलकिपर अल्जाज इभासिकले एक बचाउ गरे। मियामीका गोलरक्षक ओस्कार उस्टारीले पाँच उत्कृष्ट बचाउ गर्दै टोलीलाई अग्रता जोगाइरहे।