काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी काठमाडौं गुर्खाजले दोस्रो संस्करणका लागि नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईलाई नियुक्त गरेको छ।
काठमाडौंले बिहीबार यसको जानकारी दिएको हो। गत संस्करण काठमाडौंको मुख्य प्रशिक्षकको जिम्मेवारी नेपाली टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले सम्हालेका थिए।
तर, काठमाडौं नेट रनरेटमा पछि पर्दै प्लेअफमा पुग्न चुकेको थियो। काठमाडौंले लिग चरणका ७ खेलमा ४ जितसहित ८ अंक जोडेर पाँचौं स्थानमा रहेर सिजन अन्त्य गरेको थियो।
मोन्टीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२३ देखि टोलीको मुख्य प्रशिक्षक रहने गरी नियुक्त गरेको थियो। त्यतिखेर क्यानले उनीसँग दुई वर्षको कार्यकाल रहने गरी सम्झौता गरेको थियो। तर, उनी त्यो सम्झौता लम्बाएर चार वर्षमा पुर्याउन चाहन्थे।
यद्यपि, ओडिआई मान्यता गुम्ने खतरासँगै दोस्रोपल्ट एसिया कप छनोट र इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर गुमाएसँगै उनलाई क्यानले २१ माघ २०८१ मा बिदा दिएको थियो।
उनको प्रशिक्षणमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेको थियो। योसँग नेपालले आगामी चार वर्षका लागि ओडिआई मान्यता जोगाएको थियो। उनकै प्रशिक्षणमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन् २०२३ मा आयोजना भएको एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो।
सन् २०२४ मा नेपालले उनकै प्रशिक्षणमा छनोट चरण पार गर्दै सन् २०१४ पछि पहिलोपल्ट आइसिसी टी–२० विश्वकपसमेत खेल्यो।
अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।