काठमाडौं। १३ सिजनसम्म रियल मड्रिडबाट खेलेका मिडफिल्डर लुका मोड्रिचले आफ्नो समयमा ६ च्याम्पियन्स लिग, ५ स्पानिस सुपर कप, ४ ला लिगा, २ कोपा डेल रे र क्लब विश्वकपसहित २६ उपाधि जिते।
सन् २०१८ मा लिभरपुलविरुद्ध च्याम्पियन्स लिग जिताए। त्यसपछि क्रोएसियालाई विश्वकप फाइनलमा पुर्याएका उनी २००७ पछि क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीबाहेक बोलन डि’ओर जित्ने पहिलो खेलाडी बने।
हालै उनले ला लिगा खेल्ने सबैभन्दा पाको खेलाडी बनेर कीर्तिमान पनि राखे। ३९ वर्ष र ११६ दिनको उमेरमा भ्यालेन्सियाविरुद्धको २–१ को जितमा गोल गरेर उनले फेरेन्क पुष्कासको कीर्तिमान तोडेका हुन्।
उनी स्पेनिस शीर्ष डिभिजनमा सबैभन्दा लामो समयसम्म एकै क्लबमा टिकेका खेलाडीहरूमध्ये तेस्रो सदस्य हुन्। यस वर्ष अप्रिलमा इङ्ल्यान्डको च्याम्पियनसिप क्लब स्वान्सी सिटीमा सानो हिस्सा खरिद गर्दै उनी लगानीकर्ता र सह–मालिक बनेका थिए।
पछिल्लो समय उनी पहिलेभन्दा थोरै मात्र खेलिरहेका थिए। तर, उनी अझै पनि त्यस्तो खेलाडी हुन् जसले टिमको केन्द्रमा रहेर सबैलाई परिचालन गर्न सक्छन्। तर, फुटबलको दिशा परिवर्तन हुँदैछ। अब धेरै दौडन सक्ने र अधिक पोजेसन जित्ने खेलाडीहरू आवश्यक छन्।
बार्सिलोनाका पेड्रीलाई हेरौं उनी सबैभन्दा बढी दौडिने र पोजेसन जित्ने खेलाडी हुन्। मोड्रिच अब त्यसो गर्न सक्दैनन्। उनले अझै पनि आफू उपयोगी रहेको महसुस गर्थे। तर, रियलले भने उनलाई सुस्त खेलाडी मान्दै आएको । त्यसैले उनीसँग विदा लिने निर्णयमा पुगेको हो।
क्लब, फ्यान र वातावरणको भावना बुझेर उनीसँगको सम्झौता एक वर्ष थपिएको थियो। सबैभन्दा कठिन समय भनेको त्यतिबेला थियो जब प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनी र टोनी क्रोसलाई भने, ‘अब क्लबलाई फिजिकल र डायनामिक मिडफिल्ड चाहिन्छ।’ योसँगै उनले टचुआमेनी, फेडे भाल्भेर्दे र कामाभिङ्गाजस्ता खेलाडीलाई प्राथमिकता दिए।
क्रोसले फेरि आफूलाई प्रमाणित गरे र टिमको महत्त्वपूर्ण हिस्सा बने। तर, मोड्रिच भने लामो समय बेञ्चमा बस्न बाध्य भए। यस अवस्थामा उनी अलिकति अन्योलमा परे। उनलाई लाग्थ्यो–मैले अझै ९० मिनेट खेल्न सक्छु। त्यो उनीका लागि दुःस्वप्न जस्तो थियो।
तर, यो सिजनमा उनले आफ्नो भूमिका बुझ्न थालेका छन् र टिमको नेतृत्वको भूमिकामा देखिए। अन्ततः यो क्लबकै निर्णय हो। नयाँ प्रशिक्षक जाबी आलोन्सोको खेल शैलीले उर्जाशीलता र निरन्तर प्रयास माग गर्छ। त्यो मोड्रिचबाट सम्भव छैन। त्यसैले उनलाई बिदा गर्नुले क्लबलाई नयाँ नेतृत्व निर्माण गर्न मद्दत गर्छ।
यो मात्र एउटा खेलाडीको बिदाइ होइन। यो रियलको एक युगको अन्त्य पनि हो।