ओचोआले विश्वकपपछि सन्न्यास लिने

काठमाडौं। मेक्सिकोका प्रसिद्ध गोलरक्षक गुइलेर्मो ओचोआले आगामी विश्वकपपछि व्यावसायिक फुटबलबाट सन्न्यास लिने भएका छन्।
फुटबल स्थानान्तरणसम्बन्धी समाचारका लागि परिचित पत्रकार फाब्रिजियो रोमानोले यो जानकारी सार्वजनिक गरेका हुन्।
रोमानोले सामाजिक सञ्जालमार्फत लेखेका छन्,‘ओचोआले मेक्सिकोको प्रतिनिधित्व गर्दै आफ्नो छैटौं विश्वकप खेल्नेछन् र त्यसपछि उनले क्लब र राष्ट्रिय टोली दुवैबाट सन्यास लिनेछन्।’ ओचोआले पनि रोमानोको सन्देश पुनः सेयर गर्दै यसलाई पुष्टि गरेको संकेत दिएका छन्।
मेक्सिको, अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप ४० वर्षीय ओचोआका लागि ऐतिहासिक अवसर हुनेछ। उनी छैटौं पटक विश्वकप खेल्ने दुर्लभ खेलाडीमध्ये एक बन्ने सम्भावना छ। यस दौडमा लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीहरू मात्र छन्।
ओचोआले पहिलोपटक सन् २००६ मा जर्मनीमा भएको विश्वकपमार्फत मेक्सिकोको प्रतिनिधित्व गरेका थिए। त्यसपछि उनले २०१० (दक्षिण अफ्रिका), २०१४ (ब्राजिल), २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा पनि खेले। कतार विश्वकपमा उनले पोल्यान्डका रोबर्ट लेवान्डोव्स्कीको पेनाल्टी बचाएर निकै चर्चा बटुलेका थिए।
२२ वर्ष लामो क्लब करिअरमा ओचोआले फ्रान्स, स्पेन, बेल्जियम, इटाली र पोर्चुगलमा पनि खेलिसकेका छन्। हाल उनी साइप्रसको शीर्ष डिभिजनमा एईएल लिमासोल क्लबबाट खेलिरहेका छन्।
ओचोआले एक अन्तर्वार्तामा भने,‘यो निर्णय सजिलो छैन, तर मलाई लाग्छ बिदा भन्न त्यति गाह्रो हुनेछैन। एक समय आउँछ जब तपाईंको मन र शरीरले तपाईंले सबै दिएको महसुस गराउँछ र तपाईं सन्तुष्ट भएर मैदान छोड्न सक्नुहुन्छ।’
मेक्सिकोका प्रशिक्षक जाभियर अगुइरेले जुन १ मा अन्तिम टोली घोषणा गर्नेछन्। ओचोआ पहिलो रोजाइमा पर्छन् कि युवा गोलरक्षक ताला राङ्गेललाई मौका दिइन्छ भन्ने अझै स्पष्ट छैन। तर, ओचोआ टोलीका कप्तानमध्ये एक हुने अपेक्षा गरिएको छ।
विश्वकप जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ।













