माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

काठमाडौं। इङ्ल्यान्डका अन्तर्राष्ट्रिय मिडफिल्डर कोबी माइनूले बिहीबार म्यानचेस्टर युनाइटेडसँग नयाँ पाँच वर्षे सम्झौता गरेका छन्। योसँगै उनी सन् २०३१ को जुनसम्म क्लबमै रहनेछन्।
केही महिनाअघि पूर्व प्रशिक्षक रुबेन अमोरिमको समयमा पहिलो रोजाइको टोलीमा आफ्नो स्थान कायम राख्न संघर्ष गरिरहेका कारण माइनूको भविष्य अनिश्चित बनेको थियो।
तर, सिजनको दोस्रो भागमा युनाइटेडको पुनरुत्थानमा उनले महत्त्वपूर्ण भूमिका खेलेपछि उनको प्रदर्शनले फेरि विश्वास जितेको छ। उनलाई विश्वकपका लागि इङ्ल्यान्ड टोलीमा पनि पुनः समावेश गरिएको छ।
२१ वर्षीय माइनूले भने,‘आगामी वर्षहरूमा म्यानचेस्टर युनाइटेडलाई ठूला उपाधिका लागि नियमित रूपमा प्रतिस्पर्धा गराउन म आफ्नो भूमिका अझ मजबुत रूपमा निभाउने दृढ संकल्पमा छु।’
म्यानचेस्टर नजिकैको स्टकपोर्टमा जन्मिएका माइनूले ६ वर्षकै उमेरदेखि क्लबसँग यात्रा सुरु गरेका थिए। त्यसपछि क्लबको प्रसिद्ध एकेडेमी हुँदै मुख्य टोलीसम्म पुगेका हुन्।
सन् २०२४ को युरोपियन च्याम्पियनसिपको फाइनलसम्म पुगेको इङ्ल्यान्ड टोलीमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी आफ्नो पुस्ताका उत्कृष्ट प्रतिभामध्ये एक मानिन्छन्। तर, अमोरिमको प्रशिक्षणमा भने उनले टोलीमा स्थान गुमाएका थिए।
जनवरीमा अमोरिम पदमुक्त भएपछि अन्तरिम प्रशिक्षक माइकल क्यारिकले माइनूलाई पुनः टोलीमा फर्काएका थिए। त्यसयता उनी टोलीका नियमित सदस्य बनेका छन्।













