काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका छन्।
भ्रमणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि प्रशिक्षण दौरान यी दुई खेलाडी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो।
क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२०आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने भएका छन्।
सोमपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ र नेदरल्यान्ड्सविरुद्धको खेलमा ३ विकेट लिएका थिए। तेस्रो खेलमा स्कटल्यान्डविरुद्ध विकेटविहीन भए पनि उनले ब्याटिङमार्फत ६७ रन बनाएका थिए।
यद्यपि, उक्त खेलमा ३२४ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ३२१ रन मात्रै बनाउन सकेको थियो। उक्त खेलमा नेपाल २ रनले पराजित भएको थियो। अघिल्ला दुई खेलमा भने नेपाल विजयी भएको थियो।
गुल्सन भने अघिल्ला दुई खेलमा विकेटविहीन रहे। यद्यपि, उनले स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ४२ रनको योगदान दिएका थिए। उक्त खेलमा नेपाल १ विकेटले विजयी भएको हो।
नेदरल्यान्ड्स र स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा उनले समान ११ रन बनाएका थिएर नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। नेपालले मंगलबार नेदरल्यान्ड्सँग खेल्दै यो स्कटल्यान्डको एकदिवसीय सिरिज सक्काउने छ।