राखेपको निर्देशन लत्याउँदै एन्फा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको टकराव तीव्र बनेको छ।
राखेपले स्पष्ट निर्देशन दिँदै एन्फाको आगामी साधारण सभा तथा निर्वाचन प्रक्रिया स्थगित गर्न भनेको थियो। तर, एन्फाले त्यसलाई लत्याउँदै शनिबारदेखि निर्वाचन प्रक्रिया अघि बढाएको छ।
राखेपको संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले गत सोमबार एन्फालाई पत्र पठाउँदै परिषद्को स्वीकृतिबिना साधारण सभा (अर्डिनरी कंग्रेस) र निर्वाचनसम्बन्धी सम्पूर्ण काम तत्काल रोक्न निर्देशन दिएका थिए। तर, एन्फाले निर्वाचन प्रक्रिया नरोकेपछि राखेपभित्र असन्तुष्टि बढेको बताइएको छ।
_page-0001 (1)-1773560289702.jpg)
राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ (ग) तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (ङ) अनुसार परिषद्को स्वीकृतिबिना कुनै पनि राष्ट्रिय खेलकुद संघले साधारण सभा तथा निर्वाचन गर्न नपाउने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ।
यसअघि पनि राखेपले एन्फालाई प्रचलित कानुनअनुसार साधारण सभा सञ्चालन गर्न ११ बुँदे निर्देशन पठाएको थियो। तर, ती निर्देशनको पालना नगरी एन्फाले निर्वाचन तालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको भन्दै एन्फाकै उपाध्यक्ष विराटजंघ शाही र केन्द्रीय सदस्य रुपेश अधिकारीले राखेपमा उजुरी दिएका थिए।
एन्फाले भने माघ २८ गते आगामी चार वर्षे कार्यकालका लागि निर्वाचन गर्ने भन्दै पहिलो तालिका सार्वजनिक गरेको थियो। निर्वाचन आचारसंहिताका कारण उक्त तालिका सरेपछि २२ फागुनमा पुनः नयाँ तालिका जारी गर्दै १३ चैतमा निर्वाचन गर्ने तयारी गरेको छ। निर्वाचन समितिले उजुरी तथा दाबी–विरोधको सुनुवाइपछि उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

तर, राखेपको भनाइमा एन्फाले परिषद्को निर्देशनलाई अटेर गर्दै प्रक्रिया अघि बढाउँदा कानुनी जटिलता थपिएको छ। राखेपका एक पदाधिकारीका अनुसार यदि एन्फाले परिषद्को निर्देशन नमानेर निर्वाचन गराउने प्रयास गरे ‘तदर्थ कमिटी’ गठनसम्मको कदम चाल्न सकिने चेतावनी दिइएको छ।
‘दुईपल्ट राखेपले तहगत चुनाव गरेर आउनु भनेर पत्र पठाइसकेको छ। तर, एन्फाले अटेर गरिरहेको छ। राखेपले त्यसै टाइम पास गर्न पत्र पाएको होइन होला। अटेर गरेर बसे तदर्थ कमिटी गठन गर्दिने भनेर चेतवानीसम्म दिन सक्ने चेतावनी दिएको छ। यो भयो भने फुटबल दुर्घटनातर्फ जान्छ,’ एन्फाका एक उच्च पदाधिकारी भन्छन्।
फिफा र एएफसीको निर्णय कुर्दै एन्फा
एन्फा प्रवक्ता सुरेश शाह आफ्नो संस्था राखेपभन्दा पनि फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी)को ‘गाइडलाइन’ चल्ने बताउँछन्। यद्यपि, एन्फाले नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको निर्देशनलाई सम्मान गर्दै उक्त पत्र फिफा र एएफसीलाई पठाएको बताउँछन्।

‘हामी चल्ने फिफा र एएफसीबाट हो। त्यही पनि राखेपले यस्तो यस्तो भनेको छ, के गर्ने? भनेर पत्र उता पठाएका छौं। त्यहाँबाट के निर्णय आउँछ हेरौं,’ उनले खेलपाटीसँग भने। उनका अनुसार फिफा र एएफसीबाट सोमबारसम्म जवाफ आइसक्ने छ।
यता, सोमबार नै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसमेतको टोलीले राखेपका कार्यवहाक सदस्यसचिव रामचित्र मल्होत्रालाई भेट्ने तयारी गरेको छ। सदस्य सचिव मल्होत्रा विराटनगर पुगेकाले एन्फाको टोलीले सोमबार भेट्ने तयारी गरेको हो।












