किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले ४९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
बिहीबार मात्र नियुक्त भएका एरेनाले आइतबार उक्त टोली घोषणा गरेका हुन्। नेपालले मार्च २६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हङकङविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय छ।
उक्त खेललाई लक्षित गर्दै मुख्य प्रशिक्षक एरेनाले ४९ खेलाडी समेटिएको प्रारम्भिक टोली सार्वजनिक गरेका हुन्। टोलीमा कप्तान किरणकुमार चेम्जोङसँगै अनुभवी खेलाडीसँगै केही नयाँ अनुहारलाई पनि मौका दिइएको बताइएको छ।
घोषित प्रारम्भिक टोलीबाट अन्तिम टोली छनोट गरी नेपालले हङकङविरुद्ध मैदान उत्रिनेछ। प्रशिक्षक एरेनाले व्यापक प्रतिस्पर्धा सिर्जना गर्दै उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले ठूलो संख्यामा खेलाडीलाई प्रारम्भिक टोलीमा समेटेका हुन्।
यो मैत्रीपूर्ण खेल नेपालले आगामी एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध हुने खेलको तयारीका रूपमा पनि लिएको छ।












