राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग श्रम स्वीकृती नलिई राष्ट्रिय लिग खेलिरहेका विदेशी खेलाडीहरूको विवरण माग गरेको छ।
राखेपले आइतबार एन्फालाई पत्र पठाउँदै सञ्चालनमा भइरहेको राष्ट्रिय लिगमा सहभागी केही विदेशी खेलाडीहरूले श्रम स्वीकृती/इजाजत नलिई खेलिरहेको भन्ने उजुरी प्राप्त भएको जनाएको छ।
उजुरीअनुसार विदेशी खेलाडीहरू पर्यटक भिसामा नेपाल आएर प्रतियोगितामा खेलिरहेको र उनीहरूलाई श्रम स्वीकृतीबिना खेलाएको हुन सक्ने आशंका गरिएको पत्रमा उल्लेख छ।
-1773575953596.jpeg)
राष्ट्रिय लिगमा १७ वटा टिमहरू सहभागिता रहेकोमा सहभागी टिमले विदेशी खेलाडीहरूलाई श्रम स्वीकृती / इजाजत नलिई पर्यटक भिषामा खेल खेलाइरहेकोले छानबिन गरी कारबाही गरि पाँऊ भन्ने समेतको व्योहोराका उजुरी सम्बन्ध आएको छ,’ राखेप संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले काटेको पत्रमा भनिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त जानकारीका आधारमा राखेपले एन्फासँग यसबारे स्पष्ट विवरण माग गरेको हो। श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार श्रम स्वीकृती नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने व्यवस्था रहेको राखेपले स्मरण गराएको छ।
‘राष्ट्रिय लिगमा सहभागी क्लबहरूले कुन–कुन देशका विदेशी खेलाडीलाई कस्तो भूमिकामा सहभागी गराएका छन्, उनीहरूले श्रम स्वीकृती लिएका छन् वा छैनन् भन्ने नामावलीसहित विस्तृत विवरण यथाशीघ्र उपलब्ध गराउनू,’ पत्रमा भनिएको छ।
राखेपले सो विवरणका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।





-1773571925193.webp&w=3840&q=75)






