काठमाडौं। झन्डै १५ वर्षअघि सिरी ‘ए’ जिताएका मासिमिलियानो एलेग्रीलाई एसी मिलानले फेरि मुख्य प्रशिक्षक नियुक्त गरेको छ। संकटमा परेको मिलानलाई पुनः उद्धार गर्ने जिम्मेवारीसहित उनलाई शुक्रबार नियुक्त गरिएको हो।
एलेग्रीले सर्गियो कोन्सेसाओको स्थान लिएका हुन्। कोन्सेसाओलाई बिहीबार बर्खास्त गरिएको थियो। कोन्सेसाओको नेतृत्वमा मिलान सिरी ‘ए’ मा आठौं स्थानमा रह्यो। योसँगै मिलान आगामी सिजन युरोपेली प्रतियोगिता खेल्नबाट बञ्चित भएको छ।
यसमा अनुबन्धको अवधि या शर्तबारे भने केही खुलाइएको छैन। एलेग्रीले पछिल्लो दुई कार्यकालमा युभेन्ट्स सम्हालेका थिए। एक वर्षअघि कोपा इटालियाको फाइनलमा रेफ्रीप्रति गरेको आक्रोशपूर्ण व्यवहारका कारण उनलाई बर्खास्त गरिएको थियो।
एलेग्रीले मिलानसँग सन् २०११ मा पहिलो पटक इटालियन लिग जितेका थिए। त्यसपछि उनले युभेन्ट्सलाई सन् २०१५ देखि २०१९ सम्म लगातार पाँच पटक सिरी ‘ए’ उपाधि दिलाए। मिलान पछिल्लो सिजनमा अत्यन्तै निराशाजनक प्रदर्शनसँगै समर्थकको निसानामा परेको थियो। सिजनको सुरुआत उपाधि दावेदारको रूपमा गरेको मिलान अन्ततः च्याम्पियन नापोलीभन्दा १९ अंकले पछि रह्यो।
सात पटकको युरोपियन च्याम्पियन मिलान फेब्रुअरीमा च्याम्पियन्स लिग प्लेअफमा फेएनोर्डसँग पराजित भयो। यसै महिनाको कोपा इटालिया फाइनलमा बोलोग्नासँग पनि हार बेहोर्नुपर्यो। यसबीच सहरी प्रतिद्वन्द्वी इन्टर मिलान भने शनिबार पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध च्याम्पियन्स लिग फाइनल खेल्दैछ।
एक वर्षभित्रै यो मिलानको तेस्रो प्रशिक्षक फेरबदल हो। पाँच वर्ष लामो कार्यकालपछि स्टेफानो पिओलीले क्लब छाडेका थिए। त्यसपछि नियुक्त भएका पाउलो फोन्सेकालाई आधा सिजनमै हटाइयो र कोन्सेसाओले जिम्मेवारी सम्हाले। कोन्सेसाओले छोटो कार्यकालमै मिलानलाई इटालियन सुपर कप जिताएका थिए, जुन सिजनको सबैभन्दा ठूलो उपलब्धि बन्यो।
अब एलेग्रीसँग मिलानका समर्थकले फेरि नयाँ युगको अपेक्षा गरेका छन्।