काठमाडौं। स्पेनिस पूर्व मिडफिल्डर जाभी अलोन्सो रियल मड्रिडको नयाँ प्रशिक्षक बन्ने पक्का भएको छ।
स्पेनिस सञ्चारमाध्यमहरूका अनुसार यस सिजनको अन्त्यपछि उनी जर्मन क्लब बायर लेभरकुजेनबाट बाहिरिने छन्। उनी तीन वर्षे सम्झौतामा रियलमा आउन लागेका हुन्।
४३ वर्षीय अलोन्सोले कार्लो एन्सेलोट्टीलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ। एन्सेलोट्टीलाई ब्राजिल राष्ट्रिय टोलीले सन् २०२६ को विश्वकपअघिको प्रशिक्षकको रुपमा हेर्दै आएको छ।
यद्यपि, इटालियन प्रशिक्षकसँग अझै एक वर्षको सम्झौता बाँकी छ। तर, रियलको यस सिजनको निराशाजनक प्रदर्शन र ब्राजिल प्रशिक्षक बन्ने उनको इच्छाले दुवै पक्षबीच सहमतिको आधारमा अलग हुने तयारी गरिएको हो।
अलोन्सोले यसै महिना लेभरकुजेन छोड्ने घोषणा गरेका थिए। उनले गएको सिजन क्लबलाई जर्मन बुन्डेसलिगा उपाधि जिताएका थिए। योसँगै बायर्न म्युनिखको ११ वर्षे वर्चस्व तोडिएको थियो। उनले जर्मन कप र सुपर कप पनि जिताएका थिए।
आगामी जुन १४ देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुने पहिलो क्लब विश्वकप अघि नै अलोन्सो रियलमा औपचारिक रूपमा अनुबन्ध हुनेछन्।
लिभरपुल र बायर्न म्युनिखका पूर्वखेलाडी अलोन्सोले आफ्नो खेलाडी करिअरकै उत्कृष्ट चरण रियलमै बिताएका थिए। अहिले उनी प्रशिक्षकको रूपमा त्यहीँ फर्किन लागेका हुन्।
एन्सेलोट्टीको सम्भावित प्रस्थानको चर्चा आइतबारको एल क्लासिकोमा बार्सिलोनासँग ४–३ को पराजयपछि थप बलियो भएको हो। यस हारले रियलको उपाधिहीन सिजन लगभग सुनिश्चित गरिदिएको छ।
६५ वर्षीय एन्सेलोट्टी सन् २०२१ मा दोस्रोपटक रियल फर्किएका थिए। उनले दुई पटक च्याम्पियन्स लिग र ला लिगा डबल जिताएका छन्। उनी क्लबको इतिहासमै सबैभन्दा सफल प्रशिक्षक मानिन्छन्। उनले कुल १५ उपाधि जिताएका छन् र युरोपका पाँचै ठूला लिगमा उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन्।
तर, यस सिजन रियललाई आर्सनलले च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट आउट गरेको थियो। कोपा डेल रे फाइनलमा बार्सिलोनाले ३–२ को जित निकाल्यो।
रियल दोस्रो स्थानमा छ र शीर्ष स्थानको बार्सिलोनासँग सात अंकले पछि परेको छ। यदि बुधबार रियलले मल्लोर्काविरुद्ध जित निकाल्न सकेन भने बार्सिलोना तीन खेलअगाबै च्याम्पियन बन्नेछ। तर, त्यसपछि बिहीबार एस्पान्योलविरुद्धको सहर डर्बी जिते बार्सिलोनाले उपाधि निश्चित गर्नेछ।
रियलले मे २५ मा रियल सोसिडाडसँगको अन्तिम खेलअघि प्रशिक्षक परिवर्तनको औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ। एन्सेलोट्टीलाई उनको सफल चार वर्षे कार्यकालको सम्मान गर्दै क्लबले विदाइ दिनेछ।