काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
भारोत्तोलनका पूर्वखेलाडी सञ्जयकुमार महर्जनलाई ५ लाख र सुटिङ खेलाडी सविता बस्नेतलाई १ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो। कोषका अध्यक्षसमेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।
महर्जनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ। प्रशिक्षणका दौरान चोट लागेका महर्जनले दुखाई कम गर्न ३ वर्ष ‘पेन किलर’ औषधि सेवन गरेका थिए। त्यही औषधि सेवनका कारण महर्जनको मिर्गौलामा समस्या उत्पन्न भएको थियो।
सविता ‘ब्रेस्ट क्यान्सर’ बाट पीडित छिन्। सविताको ‘रेडियो थेरापी’ सकिएको कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन्।