काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व अध्यक्ष गणेश थापाले ५८ बर्षको उमेर पार गरे । तर, खेलकुदमा उनी ५८ करोडले बदनाम छन् ।
करिब दुई दशक एन्फाको नेतृत्व गरेका थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचारको आरोपमा कारबाही गरेपछि फुटबलको नेतृत्वबाट उनी बाहिरिन पुगे । करिब दुई दशक नेपाली फुटबलको नेतृत्वमा रहदाँ उनले जति नाम कमाए, उत्तिकै बदनाम समेत बने ।
तत्कालिन एन्फाभित्रको बिद्रोही समूहले थापाले पदको दुरुपयोग गर्दै एन्फाभित्र ब्यापक अर्थिक अनियमितता र भ्रष्टाचारको आरोप लगाएका थियो । वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको समूहले थापा फुटबल संघमा रहदाँ विभिन्न परियोजनामा करिब ५८ करोड रकम हिनामिना गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती शुद्दिकरण विभाग र संसदीय समितिमा उजुरी दिएका थियो ।
तत्कालिन बिद्रोही पक्ष अहिले एन्फाको नेतृत्वमा छ । करिब दुई दशक एन्फाको नेतृत्व गरेका थापा प्रतिपक्षी जस्तो बनेका छन् । ५८ करोड भ्रष्ट्राचारको नाममा आफुलाई वर्तमान नेतृत्वले बदनाम गराएको भन्दै विभिन्न सार्वजनीक फोरममा उनी बोल्दै आएका छन् । उनै थापासंग ५८ करोड भ्रष्टाचारको बिषयमा केन्द्रित रहेर खेलपाटीकर्मी रमेश सुवेदी, दिपेश तिमलसिना र हिमबिक्रम केसीले कुराकानी गरेका छौ ।
करिब चार दशक फुटबलमा सक्रिय रहनुभयो । अहिले बाहिर रहदाँ फुटबललाई कत्तिको ‘मिस’ गर्नुहुन्छ ?
अत्यन्त गाह्रो र पीडादायीक कुरा हो । सोच्दै नसोचेको घटना भयो । खेलाडी हुँदा लाग्थ्यो, कसरी म रिटायर्ड हुन सक्छु ? कम्तिमा ४०-४१ बर्षसम्म फुटबल खेल्छु भन्ने लाग्थ्यो । राष्ट्रिय टिमबाट नभएपनि क्लबबाट खेल्छु भन्ने लाग्थ्यो । म जीवनमा एउटा परिकल्पना गरेर हिडेको मान्छे हो ।
३२–३३ वर्षको उमेरमा सायद खेल जीवनको उच्च फर्ममा थिए । त्यो समय ठुलो षड्यन्त्र गरेर मलाई राष्ट्रिय फुटबल टिमबाट निकालियो । पछाडी ईष्ट बंगाल खेल्न गए । दिल्ली गएर ईष्ट बंगालविरुद्ध ह्याट्रिक गरे । टाइम्स अफ इन्डियाले गणेश थापा जस्तो मान्छे राष्ट्रिय टिममा नपर्नु दुर्भाग्य हो भनेर समाचारनै लेख्यो । पछाडी खेल्ने क्रममा घाइते भए । एक वर्ष कुरे । मेरो खुट्टा ठिक भएन । फुटबल छोड्दा जुन पीडा थियो, फुटबल संघमा आएर बिर्सिए । विस्तारै खेलाडी भन्ने नै बिर्सिए, व्यवस्थापक बनेर लागियो ।
मुख्य कुरा, फुटबलबाट यस्तो अवस्था आउला भनेर परिकल्पना गरेको थिएन । मलाई फुटबलबाट विस्थापित गर्न धेरै पटक प्रयास भए । अनेक आरोप प्रत्यारोप लगाउने, छानविन गर्ने काम भए । नेपालमा पाँचवटा आयोग बनाएर कारबाही गरिएको म पहिलो व्यक्ति होला । फुटबलको नयाँ विधान बनेको थियो । यदी सबै ठिक ठाक चलेको भए, मेरो अन्तिम कार्यकाल चलिरहेको हुने थियो । अकस्मात १० वर्षको प्रतिबन्ध लाग्दा पीडा भएको छ । एउटा कुरा, फुटबलबाट टाढा छु, तर मनबाट टाढा छैन ।
फुटबलबाट आफ्नो बर्हिगमन कस्तो हुन्छ भनेर सोच्नु भएको थियो ?
मैले त्यस्तो किसिमको क्रियाकलापनै गरेको थिईन । जिन्दगीमा सोच्दै नसोचेको घटना भयो ।
पछिल्लो पुस्ताले तपाईलाई एन्फा अध्यक्षकै हैसियतमा बढी चिन्छन् । एउटा राम्रो खेलाडीको पहिचान गुमाए भन्ने लाग्दैन ?
लाग्दैन । खेलाडीबाट सन्यास लिएपछि व्यवस्थापनमै जान्छु भन्ने थियो । फुटबलमै सक्रिय रहने र फुटबलमै केही गर्न सकिन्छ भन्ने कुरामा स्पष्ट थिए । मानिस शतप्रतिशत सहि हुदैन । म बाट समेत कमी कमजोरी भए होलान् । जे जति काम भए, पछुतो हुने काम भएनन् ।
जस्तै, नेपालमा फुटबल संघ रंगशालाको एउटा कोठामा थियो । १० बर्षबाट लिग भएको थिएन । एक रुपैयाँ खातामा थिएन । टेलिफोन, फ्याक्स काटिएको अवस्था थियो । खेलाडीको व्यवसायीकता भन्ने थिएन । त्यो अवस्थाको फुटबललाई नयाँ उचाई दिने काम गर्न सके ।
प्रयोजकलाई फुटबलमा ल्याउने महत्वपुर्ण काम भयो । जिल्ला संघको योजना, फुटबलको संरचना, साधारण सभा हुँदै संघलाई विधि र प्रकृयामा लैजाने काम भए । फुटबलको संरचना, खेलाडीलाई पुरस्कार, कार पाउने, अपार्टमेन्ट पाउने, तलब पाउने, पुर्वाधार बनाउने, एन्फा एकेडेमी सञ्चालन गर्ने लगायतका धेरै काम फुटबलमा गरियो भन्ने लाग्छ । अहिले आएर फुटबलमा जग बसाल्ने काम गरे भन्ने लाग्छ ।
एन्फामा तपाईको अन्तिम समयको कार्यकाल बढी विवादीत देखियो । आर्थिक अनियमितितासंगै एन्फालाई परिवार जसरी चलाउनुभयो भन्ने आरोप नि खेप्नुभयो । कुनै टिप्पणी छ ?
परिवार जसरी भनेको के हो मलाई थाहा छैन । त्यो समय मसंग भएका साथीहरु अहिलेको एन्फामा हुनुहुन्छ । मेरो आर्शिवादले १०÷१२ बर्षसम्म उपाध्यक्ष पड्काईरहनु भएको हो । मेरो पछाडी छोरोलाई ल्याउने कुनै योजना थिएन । मैले परिवारवाद जसरी चलाउने भए, ललितकृण्ण श्रेष्ठलाई किन कार्यबहाक बनाएर छाड्थे होला त ? पछाडी नरेन्द्र श्रेष्ठलाई किन बनाईरहन्थे होला त ? मेरो छोरालाई बनाईहाल्थे नि ।
तर, तपाई माथि लागेको ५८ करोडको भ्रष्टचारको आरोप त सही हो नि ?
सबै हावादारी कुरा हुन् ।
जसरी साथीहरुले आरोप लगाउनु भएको छ । सजिलै यो विषयको अन्त्य हुन्छ जस्तो मलाई लाग्दैन । यसको छिनाफानो हुन्छ । जुन आरोप कर्माछिरिङ शेर्पा सहितको टिमलले लगाउनुभएको छ । त्यो बिषयमा म विस्तृतमा जान चाहन्न । यस विषयमा म चाँडै पत्रकार सम्मेलन गर्नेछु । एउटा मान्छेलाई चरित्र हत्या गर्नहुन्न भत्रे किसिमको आन्दोलन जस्तै चलाउन चाहन्छु ।
त्यसो भए, तपाईको कार्यकालमा एन्फाभित्र भ्रष्टाचार भएन भन्ने तपाईको दाबी हो ?
दुई सय प्रतिशत म आत्मविश्वासी छु । त्यसैले बारम्बार यो कुरा उठाईरहेको छु । सम्वन्धित निकायबाट सफाइ पाएपछि कोही मान्छेले भ्रष्टचारको आरोपको कुरा दोहोर्याएर हिडेको देखेको छैन । केही साथी मिलेर मेरो चरित्र हत्या गर्नुभयो । सफाई पाएपछि मैले बारम्बार कुरा उठाईरहेको छु ।
तपाईले कुनै समय पत्रकार सम्मेलनमै टिकट बिक्रीबाट उठेको ८ करोड रुपैयाँ रंगशाला बनाउन लुकाएर राखेको छु भनेर सार्वजनीक रुपमा बोल्नुभएको थियो । त्यो पैसा कहाँ छ ?
खेलाडीको फिक्स डिपोजिटमा राखेको पैसा त्यही हो । सरकारको सहयोगमा च्यासलमा रंगशाला बनाउने बिषयमा सहमती जुट्यो । ८ करोड खेलाडीको खातामा राखियो । एन्फाको पैसा लुकाएर पनि राख्न पाउँछ ? त्यो डिपोजिट गर्नपर्छ । कुन एकाउन्ट, कुन शीर्षक भन्ने हुन्छ ।
मलाई जुन अरोप लगाईएको छ । मैले फोटोकपी गरेर राखेको छु । म माथि लगाईएको आरोप सहित म चाँडै आउछु । किनकी मलाई ठुलो पीडा भईरहेको छ । मैले आरोप लगाउने साथीहरुलाई समय दिएको हो । अब ९ महिना बित्यो । आरोप लगाउने साथीहरुले अब म माथि लगाएका आरोप प्रष्ट पार्न पर्छ ।
एन्फाको नयाँ नेतृत्वको ९ महिने कार्यकाललाई कसरी मुल्याङ्कन गर्नुभएको छ ?
सबै काम बिगारे, भत्काए भन्ने पक्षमा छैन । योजना सार्वजनीक भएका छन् । कार्यक्रम सम्पन्न भएपछि टिप्पणी गर्न उपयुक्त होला । रेलिगेशन बिनाको लिग भयो । ५ बर्ष लिग नभएको कारणले भन्ने कुरा आयो । १० बर्ष फुटबल नहुदाँ मैले पनि त रेलिगेशन सहितको लिग चलाएकै हो नि । चासो र चिन्ता भनेको चुनावको समय भएको समझदारी अनुसार रेलिगेशन बिनाको लिग गरियो भन्ने हो । हिजो च्याम्पियनको हैसियत के थियो, आजको हैसियत के छ भन्ने कुराले प्रष्ट देखिन्छ । सम्झौता गरेर लिग सञ्चालन गरियो तर त्यो नगर्दिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
भनेपछि समग्रमा सन्तुष्ट हुनुहुन्छ ?
एकाध कार्यक्रम भर्खरै बन्दै छ । सञ्चालनमा आएपछि भन्न सकिन्छ । तर मुख्य कुरा मेरो राखेपसंग ठुलो आपत्तिजनक बिषय छ । फुटबल संघले नविन पाण्डेलाई फिफा कांग्रेसमा लग्यो । तर, विदेशीलाई देशको प्रतिनिधित्व गर्न मिल्छ कि मिल्दैन भन्ने बिषयमा राखेप र मन्त्रालय बोल्न पर्दैन ?
तपाई नेपाली फुटबलको प्रतिपक्ष हो ?
प्रतिपक्ष भन्दापनि नेपालको फुटबलमा मैले सानो प्रतिक्रिया दिदाँ काम गर्दा अलिकति सतर्कता अपनाउन पर्छ भन्ने किसिमको आभाष दिन चाहन्छु । प्रत्यक्ष रुपमा म संलग्न हुन मिल्दैन । खुलेआम भाषण र गतिविधि गर्न मिल्दैन । गणेश थापा सुतिरहेको छैन, गणेश थापाले थाहा पाउला भन्ने डर दिन चाहन्छु । उनीहरुले राम्रो काम गर्न सकुन् ।
एन्फा नेतृत्वमा बिताएको दुई बर्षे कार्यकालको समिक्षा गर्दा कहाँ चुके भन्ने लाग्छ ?
व्यवहारिक पक्ष छन् । व्यवहार राम्रो भएनी कि ? आक्रमक बढी भए कि ? नम्र हुन सकिन कि भन्ने लाग्छ । तर मेरो कार्यकालमा पछुतो हुने काम केही गरिन । फुटबलप्रति जिम्मेवार भएका कारणले बढी दबाबमा रहन्थे ।
मेरो पालामा राम्रो टिम हुदाँ पनि साफमा च्याम्पियन हुन सकिएन । तर मैरै पालामा उत्पादन भएका खेलाडीले पछाडी धेरै उपाधि जिते । पाँच बर्षसम्म मैले उत्पादन गरेका खेलाडी बाहेक नयाँ खेलाडी आएको देखेको छैन । मैले उत्पादन गरेका खेलाडीले आगामी ५, ७ बर्ष नेपालले जिते पनि हारेपनि त्यसको जस अपजस मैले लिन पर्छ ।
भाग्यले साथ दिएन भन्ने ठानेको छु । एएफसी च्यालेन्ज कप जस्तो प्रतियोगितामा दुई पेनाल्टी मिस गरेर हामी फाईनल पुग्न सकेनौ । काठमाडौंमा भएको साफमा दुई वटा पेनाल्टी मिस गरेर फाईनल पुग्न सकेनौ ।
संघको राजनीतिमा तत्कालिन उपाध्यक्ष कर्माछिरिङ माथि बढीनै प्रतिरोध राखे भन्ने लाग्छ ?
गल्ती नगल्ती भन्दा पनि उहाँ जुन बाटोबाट हिड्नु भो मैले सम्झौता गर्न चाहिन ।
त्यसको पछुतो छ कि छैन ?
मलाई पछुतो छैन । उहाँले जसरी कुराहरु उठाउनुभयो । जसरी धम्क्याउन प्रयास गर्नुभयो । मैले गलत कुरासंग सम्झौता गर्न चाहिन । उहाँले उठाएका कुराहरु गलत थिए ।
त्यसो भए कुनै पछुतो छैन ?
सम्झौता गरेको भए, व्यक्तिगत रुपमा मलाई केही हुन्थ्यो होला । व्यवहार गर्ने क्रममा पहिल्यै समाधान गरेको भए हुन्थ्यो होला ।
उहाँले उठाएका बिषय निकै राजनीतिक थिए । उहाँले जे उठाउनुभएको थियो, उहाँलाई नै ब्याकफायर हुदैछ । आफ्नो कुरा आफ्नै ठाउँमा राख्न सकिन्थ्यो । म आफैले हुर्काएका बढाएका साथी हुन् । नेपालमा जे कुरा उहाँले उठाउनु भयो, के त्यो प्रमाणित भयो त ? एउटा मान्छेको चरित्र हत्या गर्ने काम गर्नुभयो । फिफाको कार्यकारी समितिमा लड्न सक्ने हैसियत भएको मान्छेलाई गलत आरोप लगाएर के पाउनुभयो ?
गलत सन्देश प्रभाव गरेर फिफामा सकिएको मुद्दालाई उहाँले बिउत्याँउनु भयो । मलाई कारबाही गराएर उहाँ व्यक्तिगत रुपमा एन्फा अध्यक्ष त हुनुभयो । अब त्यो पोजिसनमा पुग्न नेपालीलाई कति समय लाग्ला । त्यो हैसियत नेपालको कहाँ थियो ?
फिफामा मेरो सक्किसकेको मुद्दालाई नेपालमा जुन किसिमबाट प्रोपागाण्डा गराएर, मेरो व्यक्तित्वलाई बिगारेर मलाई कारबाही गराउन सफल हुनुभयो । तर नेपालमा उहाँले लगाएका आरोपहरु कहाँ छन् ? उहाँले यो बिषयमा सोच्न पर्यो ।
ती आरोपलाई के अब पुष्टि गर्न पर्यो भन्न खोज्नुभएको हो ?
हो, पुष्टि गर्न पर्यो । पुष्टि गरे म खुसी हुन्छु । म आफै उठाउँदै छु । म माग गरिरहेको छु । म चाँडै पत्रकार सम्मेलन गरेर जानकारी गराउन चाहन्छु । उहाँले स्पष्ट कुरा के छ भने, म भए त्यो गर्थे ।
गणेश थापा, नेपाली राष्ट्रिय टिमका कप्तान । मेरै नेतृत्वमा काम गर्नुभएको थियो । फुटबलमा धेरै राम्रा काम भएका छन् । उहाँले सहर्ष रुपमा स्विकार गरेर गणेश थापाले गरेका राम्रा कामलाई म निरन्तरता दिन्छु । मैले लगाएका आरोप प्रमाणित भएनन् । सार्वजनीक रुपमा म गणेश थापाप्रति क्षमा प्रार्थी छु भनेर उहाँले भने सक्कियो नि त कुरा । त्यो नभन्ने भए प्रमाणित त गर्नपर्छ ।
दुई विकल्प उहाँसंग छ, आरोप कि प्रमाणित गर्न पर्यो कि माफी माग्न पर्यो । मैले आरोप बिर्सिएको छु र ? एन्फाको पैसा ३६ प्रतिशत ब्याजमा लगाएर खायो भनेको छ । परिवारका छोरा, श्रीमतीको नाममा विदेशी पैसा लिएर आएर खायो भनेको छ । ८ करोड पैसा कहाँबाट ल्यायो भनेको छ । साथी भन्ने संस्थालाई करोडौं करोड दियो भनेको छ ।
गोल प्रोजेक्टको २० करोड खायो भनेको छ । बदनाम गराएर संख्या जोड्दा ५८ करोड खायो भनेको छ । ३६ प्रतिशत ब्याजमा लगाएर खायो भनेर उहाँले अख्तियारको ढोकामा भन्नु भएको छ, रेकर्ड सहित । अभिषेक थापाको नाममा हिमालयन बैंकमा ५० हजार डलरको खाता छ भन्नु भएको छ । कोषको पैसा खायो भनेको छ । एएफसीको पैसा अडिट गरेको छैन भनेको छ । टिकटबाट आएको पैसा सबै खायो भनेको छ । उहाँ आफै आर्थिक समितिमा हुनुहुन्थ्यो । सबैमा उहाँकै (कर्माछिरिङकै) हस्ताक्षर छ । उहाँलाई मेरो आग्रह भनेको, फुटबल अघि बढाउनुहोस । एउटा नेतृत्वले कि प्रमाणित गरेर देखाउन पर्यो कि स्विकार गरेर नयाँ अगाडी बढ्न पर्यो ।
आरोप मात्र लगाएर उहाँलाई छुट छैन । उहाँ राम्रो फुटबल चलाए मेरो सहयोग छ । तर जुन कुरा गलत गर्नुहुन्छ, स्विकार हुदैन । उहाँलाई नि गाह्रो होला, त्यहाँ नि असल मान्छे छैनन् होला । तर सम्झौता गरेर फुटबल चल्दैन ।
नयाँ नेतृत्वले फुटबल बिकासका लागि कसरी काम गरिदियोस भन्ने लाग्छ ?
नयाँ नेतृत्वले आफुले उठाएका कुरा पुरा गर्न पर्यो । गणेश थापाको राम्रो कामलाई निरन्तरता दिन पर्यो । गलत भए, कारण सहित मैले यसरी राम्रो गरे भनेर भन्न पर्यो । आर्थिक कुरामा म हिजो पनि कडा थिए, कालो चिया खुवाएर चलाएको संस्था हो । अहिलेपनि त्यहाँ आर्थिक कुरा हिनामिना नहोस भन्नेमा मेरो चासो रहन्छ । किनकी विदेशबाट आएको पैसा सहि सदुपयोग होस भन्ने मेरो चाहाना हो ।
उहाँहरु कुनैपनि बेला मसंग सल्लाह लिन सक्नुहुन्छ । प्रतिबन्ध लाग्ने बित्तिकै गणेश थापाले सबै कुरा बिर्सिएको छैन । अनौपचारिक रुपमा के गर्दा राम्रो हुन्छ भनेर दुई वटा नयाँ आईडिया लिए सानो मान्छे भईदैन ।
तर उहाँको क्रियाकलापहरु हेर्दा कुन बाटो जाँदै हुनुहुन्छ भन्ने छर्लङ देखिन्छ । अझ पनि समय छ । हिजो आरोप लगाउदाँ छानविन नहुन्जेल बाहिर बस्दिनु भन्नु भएको थियो ।
उहाँहरु माथि पनि आरोप लागेका छन् । छानविन भएर ‘क्लियर’ भएर आउनुहोस । यत्रो ठुलो मुद्वा छ, अदालतको कुरा छ, पैसाको कुरा उठेको छ । सही छानविन गरेर उहाँ अगाडी बढ्नु भयो भने म कहिल्यै नकारात्मक छैन । मेरो कुनै पुर्वाग्रह छैन । तर उहाँहरुको क्रियाकलापप्रति मेरो असहमती हो । जसरी मेरो चरित्र हत्या गर्ने काम भयो । मेरो सिधा कुरा छ, कि स्विकार गर कि प्रमाणित गर । कतै मैले ५८ भन्दा बढी खाएको छु कि, वा ५ करोडमा झर्छु कि ?
एन्फामा तपाईको पुनरागमन हुने सम्भावना के छ ?
मैले त्यो सोचेको छैन । त्यो मेरो प्राथमिकता होईन । नेपाली फुटबल राम्रो होस, म त्यसैमा सन्तुष्ट हुन्छु ।
प्रतिपक्षले त सत्ता कुरेर बस्छ नि ?
मैले आफुलाई प्रतिपक्ष ठानेकै छैन । म प्रतिपक्ष होईन । फुटबलमा मेरो संलग्नता छैन । मेरो कारणले डराउनुहोस भन्ने हो । मेरो काम डर पैदा गर्ने हो । प्रतिपक्षमा लागेर म हिड्ने होईन । मैले ३५ बर्ष फुटबलमा बिताए । मैले जिवनमा सबै कुरा पाए । राजनीतिमा एउटा मिसनका साथ हिडेको थिए ।
प्रष्ट भन्नुस, फुटबलमा सक्रिय भएर फर्कनु हुन्छ ?
मैले सोचेकै छैन । फर्कन्छु वा फर्किन्न मेरो कुरा होइन । भोली राम्रो फुटबल अघि बढेमा म किन आउन पर्यो र ?
तर, यदी राम्रो भएन भने ?
फुटबलमा राम्रो भएन । सबै साथी भाईले आउनु पर्यो भनेमा त्यो अर्को कुरा भो । फुटबलमा राम्रो मान्छे आएर अगाडी बढाएको खण्डमा म किन आउन पर्यो । म पछाडीबाट सहयोग गरिहाल्छु । तर फुटबल बिग्रियो, भत्कियो भनेर साथी भाईहरुले भनेको खण्डमा सोच्न सकिन्छ । तर राम्रोसंग फुटबल अगाडी बढेमा मलाई आउन छैन । मलाई पुगिसक्यो । तर फुटबलको चिन्ता र चासो रहन्छ । तर साधारण सभाको सदस्य भएर विकृती र राम्रो कुराको पक्षमा बोल्ने ईच्छा छ । र, मेरो नामको कुरा छ । मेरो ‘ईमेज’लाई खत्तम पार्ने काम भएको छ । त्यसलाई सुधारेर देखाउन मन छ ।