काठमाडौं । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेको खेलमा बार्सिलोना ला लिगा फुटबलमा विजयी बनेको छ ।
आईतबार घरेलु मैदानमा बार्सिलोनाले आल्भेसलाई २–१ ले हराएको हो ।
बार्सिलोनाको जितमा दुवै गोल लेवान्डोस्कीले गरे ।
खेल सुरु भएको १८ सेकेन्डमै सामु ओमोरोडियनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा लेवान्डोस्कीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । खेल सकिन १२ मिनेट अघि प्राप्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाएका हुन् ।
प्राप्त जितले बार्सिलोनालाई लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ३० अंक रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको दुरी २ अंकमा र शीर्ष स्थानको गिरोनासँगको दुरी ४ अंकमा झारेको छ ।
उनले यस सिजन बार्सिलोनाका लागि सात गोल पुरा गरे । पछिल्लो ६ खेलमा गोल विहीन रहेका लेवान्डोस्कीले पुन फर्ममा फर्किएको संकेत गरेका छन् ।
उनले पछिल्लो केही समय बार्सिलोनामा खराब समय बिताए, जुन समय उनले सन् २०११ मा बोरुसिया डर्टमण्डमा बिताएका थिए ।