काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।
आईतबार स्टामफोर्ड ब्रिजमा चेल्सीले सिटीसँग ४–४ गोलको बराबरी खेलेको हो ।
कोल पाल्मरले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै सिटीलाई जितबाट निराश पारेका थिए । सिटीका रुबिन डायसले चेल्सीका बैकल्पिक खेलाडी अर्मान्डो ब्रोजालाई फल गरेपछि प्राप्त पेनाल्टीमा पाल्मरले गोल गरेका थिए ।
खेलमा अग्रता पाहुना टोली सिटीले एर्लिङ हालाण्डको गोलमा लिएको थियो । चेल्सीका थियागो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोली चेल्सीलाई २–१ को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सिटीका अकान्जीले गोल गर्दै पुन खेल बराबरीमा ल्याएका थिए ।
दोसो हाफमा सिटी पुन हालाण्डको गोलमा अघि बढेको थियो । निकोलस ज्याकसनले गोल गर्दै पुन लण्डन क्लबलाई खेलमा फर्काएका थिए । खेल सकिन चार मिनेट अघि रोड्रीले गोल गर्दै सिटीलाई जितको नजिक पुर्याएका थिए । तर इन्जुरी समयमा सिटीकै एकेडेमीका खेलाडी पाल्मरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा टुङ्गाएका थिए ।
सन् २०२१ को च्याम्पियन्स लिगको फाइनलमा सिटीविरुद्ध गोल गरेपछि पहिलो पटक चेल्सीले म्यानचेस्टर क्लब सिटीविरुद्ध गोल गरेको हो । लण्डन क्लबले थ्रीलर खेलमा चार गोल गर्दै शीर्ष स्थानको सिटीलाई रोक्न सफल भएको छ ।
शीर्ष स्थानको सिटीको १२ खेलबाट २८ अंक छ । चेल्सी १६ अंक सहित तालिकाको शीर्ष १० भित्र अटाएको छ ।