काठमाडौं । ह्यारी केन प्रेरित बायर्न म्युनिख बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार घरेलु मैदानमा भएको खेलमा बायर्नले एफसी हेडेनहाइमलाई ४–२ गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे ।
इङ्ल्याण्डका कप्तानले जर्मनी आएर आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदाँ बायर्न लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
केनले पहिलो हाफमै दुई गोल गरेर यस सिजनको गोल संख्या १७ पुर्याएका छन् ।
उनले पछिल्ला दुई बुन्डेसलिगा खेलमा दुई ह्याट्रिक गरेका थिए । उनले ११ खेलमा लिगमा सर्वाधिक गोलको कीर्तिमान समेत बनाएका छन् ।
उनले सन् २०१९ मा रोबर्ट लेवान्डोस्कीले ११ खेलमा बनाएको १६ गोलको कीर्तिमानलाई पछि छाडेका छन् ।
पाहुना टोलीका लागि टिम क्लेइन्डिएन्स्ट र जान निकलास बेस्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर बेन्चबाट मैदान छिर्दै राफेल गुइरेइरो र एरिक मेक्सिम चौपो मोटिङले गोल गर्दै बायर्नलाई शानदार जित दिलाए ।
केन यसै सिजन इङ्लिस क्लब टोटेनहमबाट बायर्न आएका हुन् । उनले अघिल्लो सिजनको सर्वाधिक गोललाई नाघिसकेका छन् । बायर्न ११ खेलबाट २९ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हेडेनहाइम १० अंक सहित तालिकाको १३ औं स्थानमा छ ।