काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेले बुधबार पाकिस्तानविरुद्ध आफ्नो ५० औं ओडिआई खेल खेल्ने भएका छन् ।
नेपालले एसिया कपमा बुधबार पाकिस्तानविरुद्ध खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगाशालामा सुरु हुनेछ ।
सन्दीपले उक्त खेलमा आफ्नो ५० औं ओडिआई खेल पूरा गर्ने छन् । सन्दीपले ४९ ओडिआई खेलमा ३ सय ६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् ।
सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।
सन्दीप नेपालबाट ५० ओडिआई खेल खेल्ने तेस्रा खेलाडी हुन् । यस अघि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ५० ओडिआई खेल पूरा गरेका छन् ।
नेपालबाट सर्वाधिक धेरै ओडिआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् ।
सन्दीपपछि आरिफ शेख र सोमपाल कामीले समान ४७/४७ ओडिआई खेल खेलेका छन् ।