काठमाडौं। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले २०२५–२६ सिजनको नयाँ केन्द्रीय सम्झौतामा कुनै पनि खेलाडीलाई ‘ए’ श्रेणीमा नराख्ने भएको छ।
गत सिजनसम्म बाबर आजम र मोहम्मद रिजवान मात्र त्यस्तो ‘ए’ श्रेणीमा थिए। तर, यसपटक दुवैलाई बी श्रेणीमा झारिएको छ। पीसीबीले आधिकारिक विज्ञप्तिमा यसपटक प्रदर्शनका आधारमा कुनै पनि खेलाडी ‘ए’ श्रेणीमा पर्ने स्तरमा नपुगेको भन्दै सो निर्णय लिएको जनाएको छ।
पाकिस्तानका टेस्ट कप्तान शान मसुदलाई गत वर्ष ‘बी’ श्रेणीमा राखिएको भए पनि यसपटक उनलाई डी श्रेणीमा पठाइएको छ। यसपटक प्रत्येक श्रेणीमा १०–१० खेलाडी रहेका छन्। त्यसअनुसार ‘बी’, ‘सी’ र ‘डी’ गरी जम्मा ३० खेलाडीसँग सम्झौता गरिएको छ। गत वर्ष २७ खेलाडी मात्र केन्द्रीय सम्झौतामा थिए।
अनुशासनात्मक कारणले २०२४ मा आठ वर्षपछि पहिलो पटक कुनै श्रेणीमा स्थान नपाएका फखर जमानले यसपटक बी श्रेणीमा पुनरागमन गरेका छन्। बोर्डका अनुसार खेलाडीले उत्कृष्ट प्रदर्शन गरेमा भविष्यमा श्रेणी बढ्न सक्नेछ।
गत १२ महिनामा बाबर र रिजवान दुवैको प्रदर्शन औसत रहेको थियो। टोलीकै नतिजा पनि सबै फर्म्याटमा सामान्य रहेको बताइएको छ।