काठमाडौं। डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ यु–१७ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
भुटानको राजधानी थिम्फुस्थित चाङलिमिथाङ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशले घरेलु टोली भुटानलाई ३–१ ले पराजित गरेेको हो।
बंगलादेशको जितमा अल्पी आक्तरले दुई गोल गरिन्। सावरोभी अकान्दा प्रीतिले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।
खेलको दोस्रो मिनेटमै अल्पीले गोल गर्ने मौका पाए पनि भुटानी गोलकिपर केल्जाङ वाङ्मोले बचाइन्। उनले २८औं मिनेटमा अर्को वन–अन–वन अवसर पनि गुमाइन्।
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा भने प्रीतिले आरिफा आक्तरको लामो क्रसलाई हेडरमार्फत जाली चुमाउँदै बंगलादेशलाई १–० को अग्रता दिलाइन्।
दोस्रो हाफको ५४औं मिनेटमा अल्पीले बक्सबाहिरबाट प्रहार गरेको बल दायाँ कुनाबाट जाली चुम्दा बंगलादेश २–० ले अघि बढ्यो।
तर, ६१औं मिनेटमा प्रीति घाइते भएर बाहिरिएको समयमा भुटानकी रिन्जिन डेमा छोदेनले गोल फर्काइन्।
चार मिनेटमै अल्पीले कर्नरमार्फत दोस्रो व्यक्तिगत गोल गर्दै बंगलादेशको ३–१ को जित पक्का गरिन्।
बंगलादेश, भुटान, भारत र नेपालसम्मिलित यो प्रतियोगिता लिग चरणमा खेलाइनेछ। सबै खेलपछि अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीलाई च्याम्पियन घोषित गरिनेछ।
नेपाल पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियोे।