लिग खेल्न थिम्पु पुगे कृतिश
सोमबार, ३० चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अट्याकिङ मिडफिल्ड कृतिशरत्न छुन्जुले भुटानी लिग खेल्ने भएका छन्।
२३ वर्षीय छुन्जुले थिम्पु एफसीसँग सम्झौता गरेका हुन्। उनको यो पहिलो अन्तर्राष्ट्रिय क्लब हो।
थिम्पु सन् २०१६ र २०१७ को थिम्पु लिग/ए डिभिजन च्याम्पियन क्लब हो। यो क्लब २०११,२०१२,२०१३,२०१४ र २०१८ मा उपविजेता बनेको थियो।
यस्तै, २०१६ र २०२० मा भुटान राष्ट्रिय लिग (प्रिमियर लिग) जितेको थियो। २०२२ मा भुटान फुटबल फ्रेडेरेसन प्रेसिडेन्ट कप जितेको थिम्पुले २०१६ र २०१८ मा राष्ट्रिय फुटसल लिग पनि उचालेको थियो।
छुन्जुले न्युरोड टिम (एनआरटी)बाट घरेलु फुटबल खेलिरहेका थिए। राष्ट्रिय लिग बिचैमा रोकिएपछि उनी भुटान लागेका हुन्।
मध्यपुर ठिमीका छुन्जुले एनआरटीबाहेक धनगढी र बुटबल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलिसकेका छन्।












