घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

हिमालयन मनोज, गोरखा। घोडाघोडी फुटबल एकेडेमी ११औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्लेट च्याम्पियन बनेको छ।
गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा सोमबार सम्पन्न फाइनलमा जी एन्ड ए एकेडेमीलाई ३–१ ले पराजित गर्दै घोडाघोडीले उपाधि हात पारेको हो।
घोडाघोडीको जितमा मनीष बस्नेत, रुबेल नेपाली र अभिनाष चौधरीले गोल गरे। जी एन्ड जीका योङ्देन शेर्पाले एक गोल फर्काए पनि पर्याप्त हुन सकेन।
त्यसअघि भएको सेमिफाइनलमा घोडाघोडीले द ओल्ड क्यापिटल स्कूल र जी एन्ड एले द एक्सलेसर स्कूललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।
घोडाघोडीले पहिलो सेमिफाइनलमा द ओल्ड क्यापिटललाई ३–१ ले पराजित गर्यो।
अर्को सेमिफाइनलमा जी एन्ड ए पेनाल्टी सुटआउटमा ३–२ ले विजयी भयो। जी एन्ड ए र द एक्सलेसरबीचको निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो।












