काठमाडौं। दुई पटकको इन्डियन सुपर लिग (आइएसएल) विजेता चेन्नईयिन एफसीले लिगको भविष्य अनिश्चितताबीच आफ्नो गतिविधि अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
क्लबले भनेको छ,‘यस्ता निर्णयहरू सजिलै लिन सकिँदैनन्। तर, धेरै सोचविचार र गम्भीर छलफलपछि हामी यस निष्कर्षमा पुगेका हौं।’
सन् २०२५–२६ को आइएसएल सिजन सेप्टेम्बरदेखि सुरु हुने तय थियो। तर, अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) र यसको व्यावसायिक साझेदार फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेडबीचको सम्झौता नवीकरणमा अनिश्चितता बढेपछि प्रतियोगिता हालका लागि स्थगित भएको छ।
यस विषयमा सर्वोच्च अदालतको फैसलाको प्रतीक्षामा लिग रोकिएको हो। अगस्टको सुरुआतमै बेंगलुरु एफसी र ओडिसा एफसीले पनि तलब रोक्का गर्ने वा पूर्ण रूपमा फुटबल गतिविधि बन्द गर्ने निर्णय गरेका थिए।
भारतका सञ्चारमाध्यमका अनुसार सर्वोच्च अदालतको फैसला शुक्रबार आउने अपेक्षा गरिएको छ।