काठमाडौं । ओमान राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
टियु मैदान कीर्तिपुरमा समूह 'ए' मा रहेको ओमानले साउदी अरेबियालाई ७२ रनले हराएको हो ।
ओमानले दिएको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ९४ रन मात्र बनायो ।
साउदीका लागि ओपनर अब्दुल वाहिद र साद खानले अर्धशतकीय ईनिङ खेले । वाहिदले ८६ बलमा १४ चौका र १ छक्काको सहयोगमा ९५ रन बनाए ।
खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । पहिलो विकेट सात रन बनाउँदा गुमाएको साउदीका लागि वाहिद र खानले १ सय ७७ रनको साझेदारी गरेका थिए ।
तल्ला क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा साउदीले हार व्यहोरेको थियो । कप्तान हिशाम शेखले ३२ बलमा ४ चौकाको सहयोगमा ३४ रन बनाए ।
अब्दुल वाहिदले १५ बलमा २५ रन बनाए । आतिफ उर रहेमानले अविजित १६ रन बनाए ।
ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो ।
ओमानका लागि शिर्ष पाँचका ब्याटरले अर्धशतक बनाएका थिए । मोहम्मद नदिम,जिशान मक्शुद,कश्यप प्रजापती,सोयब खान र जतिन्दर सिंहले अर्धशतकीय ईनिङ खेले ।
सिंहले ७९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाए । खानले ७० बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए ।
प्रजापतीले ५३ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । मक्शुदले ४९ बलमा ५४ रन बनाए । पहिलो विकेटका लागि सिंह र प्रजापतीले १ सय २५ रनको साझेदारी गरेका थिए ।
नदिमले ३८ बलमा ६ चौका र ४ छक्काको साथमा अविजित ७१ रन बनाए । आयान खान १२ रनमा अविजित रहे ।
साउदी अरेबियाका लागि अतिफ उर रेहमानले ३ तथा अब्दुल वाहिदले २ विकेट लिए । अब्दुल वाइद १ विकेट लिए ।
यस समूहबाट नेपालले यस अघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । बिहिबार नेपाल र कतारबीचको खेल पश्चात यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
अर्को समूहबाट युएईले सेमिफाइनलमा स्थान पक्का गरिसक्दा हङकङ र कुवेतबीच बिहिबार हुने खेलबाट अर्को टोलीको टुंगो लाग्नेछ ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।