काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कपको उपाधीका दाबेदार युएई,ओमान र हङकङ समूह चरणबाट नै बाहिरिने सम्भावना कायमै रहेको छ ।
उपाधीको दाबेदार नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसक्दा अन्य तीन राष्ट्रको टुंगो लागि सकेको छैन । अन्य तीन स्थानमा साउदी अरेबिया,कुवेत तथा बहराइनले स्थान बनाउने सम्भाबना कायमै रहेको छ ।
१० राष्ट्र सहभागी यस प्रतियोगितामा पाँच पाँच राष्ट्र गरि दुई समूहमा बिभाजन गरिएको थियो । समूह ए बाट नेपालले सेमिफाइनलमा स्थान पक्का गर्दा अर्को एक टोलीको टुंगो लाग्न बाँकी रहेको छ । अर्को एक टोलीका रुपमा ओमान र साउदीको सम्भावना रहेको छ ।
उता,समूह बी मा भने सेमिफाइनलमा स्थान बनाउने दुई टोलीकै टुंगो लाग्न बाँकी रहेको छ । दुई टोलीमा हङकङ,युएई,बहराइन र कुवेतको सम्भावना रहेको छ ।
समूह ए को बुधबार हुने खेलमा ओमान र साउदी अरेबिया भिड्दै छन् । यस खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्नेछ । यदी बर्षा वा अन्य कारणबस दुई टोलीले अंक बाडेमा ओमान स्वत सेमिफाइनल पुग्नेछ । यसका साथै समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
उता, समूह बी को समिकरण फरक रहेको छ । यस समूहबाट सेमिफाइनल सम्भावना भएका चार टोलीको एक एक खेल बाँकी रहेको छ ।
समूह बी अन्तर्गत बुधबार हुने युएई र बहराइनको खेलमा बहराइन विजयी भए युएईको बाहिरिने छ । तर, युएई विजयी भए उसले सेमिफाइनलमा स्थान पक्का गर्ने छ । र बहराइनको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त हुनेछ । यदी वर्षा वा अन्य कारण दुई टोलीले अंक बाडेमा पनि बहराइनको सम्भावना सकिनेछ ।
बुधबार हुने खेलमा बहराइन विजयी भएमा समूह बी बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो बिहिबार लाग्नेछ । बिहिबार यस समूहको अन्तिम खेलमा हङकङ र कुवेत भिड्ने छन् । यस खेलमा कुवेत विजयी भएर उसले सेमिफाईनलमा स्थान पक्का गर्नेछ । र, हङकङ समूह चरणबाट नै बाहिरिनेछ ।
बुधबार बहराइन विजयी र बिहिबार हङकङ पराजित भएमा दुवै टोलीको अंक बराबर हुनेछ । र, रनरेटमा अघि रहने टोलीले सेमिफाइनल प्रवेश गर्नेछ ।
यदी बुधबारको खेलमा युएई विजयी भएमा कुवेत र हङकङ बीचमा बिहिबार हुने खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ । युएई विजयी हुँदा कुवेत र हङकङबीचको खेलमा अंक बाडियो भने हङकङको सम्भावना रहेको छ ।
यो सम्भावना हेर्दा प्रतियोगिताको सुरुआतमा उपाधीका दावेदार मानिएकका हङकङ,युएई र ओमान समूह चरणबाट बाहिरिने सम्भावना रहेको छ ।