काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कुवेतविरुद्धको सिंगापुर १ सय १३ रनमा अलआउट भएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा समूह 'बी' का कुवेत र सिंगापुरबीच खेल भईरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय १३ रन बनाएको हो ।
सिंगापुरका लागि ओपनर अर्मत्य कौलले ६० बलमा ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए ।
थिलिपन उमरदुराईले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुवेतका लागि कप्तान मोहम्मद अस्लामले ८ ओभर ४ बलमा २० रन खर्चदै ५ विकेट लिए । शिराज खानले ३ विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुर अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ ।
सेमिफाइनलको झिनो सम्भावना कायम राख्न कुवेतलाई जित आवश्यक रहेको छ ।
यस समुहबाट हङकङ सेमिफाइनल प्रवेश गरिसकेको छ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।