जुभिङ शेर्पा र खुम्बु भेटेरनसको विजयी सुरुआत

काठमाडौं । खुम्बु ल्होसार कप फुटबलमा जुभिङ शेर्पा किदुक र खुम्बु भेटेरनस् युनाइटेड क्लबले विजयी सुरुआत गरेका छन् ।
सानोगौचरण खेलकुद मैदानमा सञ्चालित प्रतियोगिताको तेस्रो खेलमा जुभिङ शेर्पा किदुक क्लबले महेन्द्र ज्योति याक्स् स्टूडन्ट् फोरमलाई ट्राईब्रेकरमा पराजित गर्यो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा कुनै टिमले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन । ट्राईब्रेकरमा बाजी मार्दै जुभिङ शेर्पा क्लबले सुखद् सुरुवात गरेको छ । खेलको म्यान अफ द म्याच पेम्बा दावा शेर्पा चुनिएका छन ।
यस्तै आजै भएको अर्को खेलमा खुम्बु भेटेरनस् युनाइटेड क्लबले सहज जित हासिल गरेको छ । खुन्दे कम्युनिटी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै खुम्बु भेटेरनस् युनाइटेड क्लबले सुखद सुरुवात गरेको छ । खुम्बु भेटेरनस् युनाइटेडका लागि मिङ्मा शेर्पा र तेन्जिङ डेभिड शेर्पाले एक एक गोल गरे । उत्कृष्ट पर्दशन गरेका तेन्जिङ डेभिड शेर्पाे म्यान अफ द म्याच चुनिए ।
खुम्बु पासाङल्हामु गाउँपालिका – खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
खुम्जुङ युवा क्लबद्वारा शनिबारदेखि आयोजित प्रतियोगित फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँको ज्ञानेश्वरमा अवस्थित सानोगौचरण खेलकुद मैदानमा सञ्चालित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ खेल हुनेछन । शेर्पा समुदायको महान् चाड अर्थात् नयाँ वर्ष – ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि यो प्रतियोगिता आयोजना हुदैँ आएको छ ।













