रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काठमाडौं। अल–नासरका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको भविष्य अन्योलमा परेको छ। साउदी प्रो– लिगमा उनले असन्तुष्टि जनाउँदै उनी निस्किने जस्तै अवस्था सिर्जना गरेको चर्चा छ।
यससँगै ४१ वर्षीय फरवार्ड युरोप फर्किन सक्ने सम्भावनाबारे अड्कलबाजी सुरु भएको छ। यही बेला उनलाई तेस्रो पटक ओल्ड ट्राफोर्ड फर्काउने विषयमा म्यानचेस्टर युनाइटेडभित्र छलफल भएको बताइन्छ। तर, क्लबको आधिकारिक धारणा भने फरक देखिएको छ।
अल–नासरसँग रोनाल्डोको सम्झौता विश्व फुटबलकै सबैभन्दा महँगोमध्ये एक मानिन्छ। दैनिक झन्डै ५ लाख पाउन्ड आम्दानी गर्ने बताइएका उनी मध्यपूर्वमा क्रमशः असन्तुष्ट बन्दै गएको जनाइएको छ। साउदी पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) अन्तर्गतका क्लबहरूबीच हुने आर्थिक बाँडफाँडप्रति उनी असन्तुष्ट रहेको खबर छ।
रोनाल्डो अल–नासरका लागि लगातार दुई खेलमा मैदान उत्रिएनन्। तर, टोलीले दुवै खेल जितेको थियो। २०२३ मा साउदी लिगमा सनसनीपूर्ण सरुवा भएपछि लिगमा प्रभाव जमाएका उनीमाथि अत्यधिक प्रभाव जमाउने प्रयास गरेको आरोपसमेत लागेको छ।
साउदी प्रो– लिगले भने मैदानभित्र र बाहिर सबै कुरा नियन्त्रण गर्न नपाइने स्पष्ट सन्देश दिएको बताइएको छ। खेलाडी अनुबन्ध र आर्थिक व्यवस्थापनको निर्णय क्लबकै हातमा रहने जनाइएको छ।
प्रतिवेदन अनुसार, २०२६ को समरमा रोनाल्डोले क्लब छाड्न सक्ने सम्भावना छ। उनको सम्झौतामा करिब ४४ मिलियन पाउन्ड (६० मिलियन डलर) को रिलिज क्लज रहेको र आगामी ट्रान्सफर विन्डोमै सक्रिय हुन सक्ने उल्लेख छ।
खेल जीवनको उत्तरार्धमा भए पनि खेलकुद र व्यापारिक मूल्यका कारण विश्वका थुप्रै क्लब अझै उनीप्रति आकर्षित छन्। स्काइ स्पोर्ट्सले दाबी गरेअनुसार, रोनाल्डोले पीआईएफ र साउदी प्रो–लिगलाई पर्याप्त खेलकुदीय सुनिश्चितता नपाए देश छाड्न सक्ने चेतावनी दिएका छन्।
यसबीच स्पोर्टिङ लिस्बन फर्किने सम्भावनाबारे पनि चर्चा छ। केही समर्थकले उनलाई लिओनल मेसीसँग एमएलएस क्लब इन्टर मियामीमा सँगै खेल्दै गरेको देख्न चाहेको बताइन्छ।
म्यानचेस्टर युनाइटेडका समर्थकमाझ पनि उनलाई पुनः ओल्ड ट्राफोर्डमा देख्न चाहने आवाज सुनिएको छ। तर, स्काइ स्पोर्ट्सका अनुसार त्यो विकल्प लगभग असम्भव छ। क्लबले तेस्रो पटक रोनाल्डोलाई भित्र्याउने कुनै योजना नरहेको जनाइएको छ।
युनाइटेडका पूर्वडिफेन्डर वेस ब्राउनले रोनाल्डोको पुनरागमन सम्भावना कम रहेको बताएका छन्। उनका अनुसार एमएलएस वा पोर्चुगल फर्किने विकल्प सम्भव हुन सक्छ।
रोनाल्डोको मुख्य लक्ष्य अझै विश्वकप खेल्नु रहेको छ। त्यसका लागि नियमित खेल तथा फिटनेस आवश्यक पर्ने ब्राउनले उल्लेख गरेका छन्। आगामी विश्वकपपछि मात्र उनले आफ्नो भविष्यबारे अन्तिम निर्णय लिन सक्ने अनुमान गरिएको छ।
औपचारिक घोषणा नआएसम्म भने रोनाल्डोको ट्रान्सफर गुञ्जन रोकिने सम्भावना कम देखिन्छ।














