मैदान भित्र सबै खेलाडी समान - कप्तान एन्जिला

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले खेल मैदानमा गएपछि सबै खेलाडी समान हुने बताएकी छिन् ।
दुई मैत्रीपूर्ण खेलका लागि भारत जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै एन्जिलाले सो कुरा बताएकी हुन् ।
'ग्राउण्डभित्र छिरिसकेपछि खेल्ने भनेको खेलाडीले हो । उनीहरु(भारतका) बाहिर खेल्न गएर टिममा फर्किएका होलान् । यसले केही फरक पार्छ जस्तो लाग्दैन । खेल्ने भनेको हामी सबै खेलाडीले हो । त्यो सबै फिल्डमा देखिन्छ ,' एन्जिलाले भनिन् 'हामीसँग अनुभवी खेलाडी पनि रहेका छन् । उमेर समूहका खेलाडी पनि हुनुहुन्छ । सबैले आआफ्नो स्थानबाट राम्रो प्रदर्शन गर्नु हुन्छ भन्नेमा म विश्वस्त छु ।'
साफ च्याम्पियनसिप पछि पहिलो प्रतियोगिता खेल्न लागेको नेपालले साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । सोहि नतिजा दोहोर्याउन सबै लागिरहेको उनले बताईन् ।
'गएको साफ च्याम्पियनसिपमा भारतलाई हराएकोले हामी सबै आत्मविश्वासी रहेका छौं । भारतीय टोली हाम्रो लागि पहिले देखि नै चुनौतीपूर्ण हो । दक्षिण एसियामा भारत बलियो राष्ट्र हो । अहिले आएर बंगलादेश पनि थपिएको छ ,' कप्तान सुब्बाले बताईन् 'भारत भन्ने बित्तिकै जित्नुपर्छ भन्ने भावना भित्रबाट नै आउछ । सबैले राम्रो खेल्नु हुन्छ । हामी जितेर नै आउछौं ।'
यो मैत्रीपूर्ण खेल आफुहरुलाई ओलम्पिक छनोटका लागि समेत तयारी हुने उनले बताईन् ।
एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टोली सोमबार चेन्नई प्रस्थान गर्ने छन् ।
नेपाली टोली -
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे
मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक













