प्रदर्शनबाट खुशी छैन - मुख्य प्रशिक्षक गुरुङ
काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
रोमान्चक खेलमा नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको थियो ।
तर, नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङ जितमा पनि खेलाडीको प्रदर्शनबाट खुशी देखिएनन् । उनले खेलाडीले शतप्रतिशत नखेलेको बताए ।
'म खेलाडीहरूको प्रदर्शनबाट खुशी छैन किनभने उनीहरूले भारतविरुद्ध ६० प्रतिशत मात्र प्रयास गरे र सम्भवतः उनीहरूले उपाधि भिडन्तमा आफ्नो शतप्रतिशत दिनेछन्, पेनाल्टी प्राप्त गर्नु खेलको टर्निङ प्वाइन्ट थियो,' प्रशिक्षक गुरुङले पोस्ट म्याच कन्फरेन्समा भने ।
नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरेकी थिइन् ।















