भारतविरुद्ध नेपाल १-० ले पछाडी

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले अहिले बलियो टोली भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा भारतले १-० गोलको अग्रता बनाएको छ ।
भारतकी अपूर्ण नार्जारीले गोल गरिन् ।
नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ।
नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।
भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।
भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ ।
पहिलो खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन् । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भुटान दुई खेलमा अंक विहीन रहदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।















