बेशीसहर । बागमती क्लब सर्लाही र समाज कल्याण खेलकुद केन्द्रले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
लमजुङको बेसीसहरमा बिहीबार खालीबारीलाई २-१ गोल अन्तरले हराउँदै बागमतीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
बागमतीका लागि देव गुरुङले एक गोल गरे । खालीबारीका रुपेश अधिकारीले एक आत्मघाती गोल गरे ।
खालीबारीका सन्जिब विष्टले एक गोल फर्काए ।
यस्तै अर्को खेलमा समाज कल्याणले लान्ग्दी देवीलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो ।
पेनाल्टीमा समाज कल्याणका एलेक्स, पुस्कर खड्का, निशान रावल र अब्दुल्लाहले गोल गरे । सुरेट लामा पेनाल्टीमा चुके ।
लान्ग्दीका विश्वास श्रेष्ठ, दिपेश आले मगर र टिका गुरुङले गोल गरे । अनिश तामाङ र क्षितित राजगीती गोल गर्न चुके।
पेनाल्टी अघि नाल्मा अब्दुल्लाहले गोल गर्दै समाज कल्याणलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, दिपेश आले मगरले गोल गर्दै लान्ग्दीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्रिवेणी युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।