काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा के.एल. दुगड ग्रुपसँग सम्झौता गरेको छ ।
एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह के.एल.दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो ।
मुख्य प्रायोजकको रुपमा के.एल. दुगड ग्रुपसँगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ । नेपालमा खाद्यान्न उत्पादन र वितरणको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको के.एल. दुगड ग्रुपको ज्ञान जस्तो बलियो ब्रान्डसँगको साझेदारीले नेपाली महिला खेलाडीको सशक्तीकरण र खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास टिम व्यवस्थापनले लिएको छ ।
सम्झौतासँगै अब टिमको जर्सी, मिडिया र सामाजिक सञ्जालमा के.एल. दुगड ग्रुपको ज्ञानलाई लुम्बिनी लाभाजको मुख्य प्रायोजकको रुपमा उल्लेख गरिनेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा के.एल. दुगड ग्रुपका कार्यकारी निर्देशक भावीका दुगडले नेपाली खेलकुदलाई सहयोग गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताइन् । उनले महिला खेलाडीहरूलाई अगाडी बढाउन र उनीहरूको प्रतिभालाई सम्मान गर्न आफ्नो समूह सधैं तयार रहेको उल्लेख गरिन् ।
लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको सशक्त संयोजनमा प्रतियोगिताका लागि बलियो टिम तयार गरेको छ । के.एल. दुगड ग्रुपको साथ र सहयोगले टोलीको मनोबल अझै उच्च बनेको छ, जसको प्रभाव टिमको उत्कृष्ट खेल प्रदर्शनमा देखिने विश्वास लुम्बिनी लाभाजका टिम व्यवस्थापनले जनाएको छ ।
इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुदैछ ।