सबिन रेग्मी
पोखरा । धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको पाँचौं मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
यस पटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।
प्रतियोगिता हेर्न आउने दर्शकका लागि टिकट मूल्य राखिएको छ । सामान्य प्यारापिटतर्फ प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ । भिआईपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ ।
प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।