धनगढी । लिटिल फ्लावर र्बोडिङ स्कुलले निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलमा लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले तेस्रो संकरणको उपाधि जितेको हो ।
उपाधिसंगै लिटिल फ्लावरले १ लाख ११ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता लिटिल बुद्धले ५५ हजार ५ सय ५५ नगद प्राप्त गर्यो ।
धनगढी स्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र शुसिल खड्काले १९ रन बनाए । लिटिल फ्लावरका शेर मल्लले २ विकेट लिए ।
लिटिल बुद्धले दिएको १४६ रनको लक्ष्य लिटिल फ्लावरले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । लिटिल फ्लावरलाई उपाधि दिलाउन कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको इनिङस खेले । यस्तै दिपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले १४/१४ रन बनाए । लिटिल बुद्धका लागि नारायण जोशीले २ विकेट लिए ।
प्रतियोगितामा प्लेयर अफ द सिरिज शेर मल्ल, बेष्ट ब्याट्सम्यान खड्क बोहोरा, बेष्ट बलर रोचक ऐर र राईजिङ प्लेयर विशाल भट्ट घोषित भए । प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद १० हजार प्राप्त गर्दा उत्कृष्ट हुनेले समान ५/५ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई निष्ट कलेजका निर्देशक डाक्टर माधव बराल लगायतले पुरस्कृत गरे ।