काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निलम्बित कमिटिले अदालतमा विचाराधिन रहेको मुद्दा फिर्ता लिन विवाद समाधानको रोड म्याप बन्नुपर्ने शर्त अघि सारेको छ ।
संघको बोर्ड बैठकले अदालतको मुद्वा फिर्ता लिने औपचारिक निर्णय गरेपनि क्रिकेट विवाद समाधानको स्पष्ट खाका नआएसम्म मुद्वा फिर्ताको प्रक्रिया अघि नबढ्ने कमिटिको जिकिर छ ।
निलम्बित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले मुद्दा फिर्ता लिने निर्णय आफुहरुले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई जानकारी दिएको बताए । मुद्दा फिर्ताको प्रक्रिया अघि बढाउन तत्काल मोनिटरिङ कमिटिको बैठक बसेर निर्वाचनको रोडम्याप तयार गर्नुपर्ने बिषयमा आईसीसीलाई जानकारी गराएको उनले बताए ।
‘मुद्वा फिर्ताको बिषय ठुलो कुरा होईन । तर, कुन चिजमा कसरी अगाडी बढ्ने भन्ने बिषयमा स्पष्ट हुन आवश्यक छ । समय तोकेर काम अघि बढाउने बिषयमा मोनिटरिङ कमिटिको बैठक चाँडै बस्न पर्छ भन्ने बिषयमा आईसीसीलाई पत्राचार गरेका छौ ।’ उनले खेलपाटीसंग भने ।
राष्ट्रिय खेलुकद परिषदले गठन गरेको तदर्थ कमिटिको बिषयमा समेत स्पष्ट भएर जान आवश्यक रहेको प्याकुरेलेको तर्क छ ।
‘३ महिनालाई गठन गरेको तदर्थ कमिटिको निष्कृय भईसक्यो भन्ने तर्क सहि होईन । हामीले पनि जुन विधानमा टेकेर मुद्दा हालेका थियौ त्यसलाई तीन पटक परिवर्तन गरिसक्यौ,’ प्याकुरेलले थपे, ‘दुवै कमिटि कानुनी रुपमा जिवित छ । त्यसलाई प्राविधिक रुपमा समाधान गर्नपर्छ, लिखित रुपमै त्यो आउनपर्छ । त्यसका लागि मोनिटरिङ कमिटिको बैठक आवश्यक छ ।’
महासचिव प्याकुरेलले जिल्ला निर्वाचनको बिषयमा समेत मोनिटरिङ कमिटिले चाँडो निर्णय गर्न आवश्यक रहेको भन्दै प्रक्रिया पुरा गरेका निर्वाचनलाई मान्यता दिनुपर्ने बताए ।
‘जिल्ला निर्वाचनको छानविन गर्न भनेर सम्पुर्ण कागजातहरु हामीले मोनिटरिङ कमिटिलाई दिएका छौ । त्यो बिषयमा समेत निर्णय गर्न आवश्यक छ,’ उनले भने ।
कमिटि गठन भएको ४ महिनापछि गत साउन अन्तिम साता काठमाडौंमा बसेको मोनिटरिङ कमिटिको बैठकले मुद्वा फिर्ता र तदर्थ कमिटि भंग गर्न क्यानका दुवै कमिटिलाई आग्रह गरेको थियो । तर, दुवै काम अघि बढ्न नसक्दा क्रिकेट विवाद समाधानको बिषय अझै जटिल बन्दै गएको छ ।
राष्ट्रिय खेलकुद परिषदले तदर्थ कमिटिको समयवाधि ३ महिनामात्र रहेको जिकिर गर्दै त्यसको कानुनी हैसियत नरहेको बताउँदै आएको छ ।
निलम्बित क्यानले अदालतको मुद्वा फिर्ता लिने औपचारिक निर्णय आफुहरुले गरिसकेको बताउँदै त्यसपछिको रोडम्याप मोनिटरिङ कमिटिले तयार गर्नुपर्ने शर्त अघि सारेको छ ।
क्यानका दुई गुट बनेपछि र राखेपले पनि क्यानमा अर्को तदर्थ समिति गठन गरेपछि राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले दुई बर्षअघि क्यानलाई निलम्बन गरेको थियो ।
त्यसयता नेपाली क्रिकेट थप रुमलिएको छ । तर, क्यान विवाद समधान गर्न आईसीसीले गत वर्ष मोनिटरिङ कमिटि गठन गरेको थियो ।