धनगढी । काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध स्कुल धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो खेलमा लिटिल बुद्धले मोक्षदा स्कुल काठमाडौंमाथि ८२ रनको जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । उसका लागि रोशन साउद र सुसिल खड्काले ४६/४६ रन बनाए । मोक्षदा स्कुलका सुबोध प्रसाद ढुङेलले ३ विकेट लिए ।
लिटल बुद्धले दिएको १७९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्षदा स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ८१ रन मात्र बनाउन सक्यो । उसका सन्दीप बिष्टले ३४ तथा रोशन पुलामी मगरले अविजित २५ रन बनाए । लिटिल बुद्धका बिबेक यादव र रोचक ऐरले समान २/२ विकेट लिए ।
आइतबार नै भएको अर्को खेलमा हिमालयन ह्वाईट हाउसले कैलाली मोडल स्कुललाई ११० रनको फराकिलो अन्तरले हरायो । जितसंगै हिमालयन सेमिफाइनलमा प्रवेश गर्दा कैलाली बाहिरिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ह्वाईट हाउसले २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । हिमालयनका लागि अङ्कित सुवेदीले ४३ बलमा १० चौका र २ छक्कासहित ७६ रन जोडे । कैलालीका कैलाश खत्रीले ३ विकेट लिए ।
हिमालयनले दिएको १८० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कैलाली मोडलले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ६९ रन मात्र बनाउन सक्यो ।