ईपीएल : चारैतर्फबाट घेरिदै सिटी

काठमाडौं । पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी अहिले एक प्रकारले चारैतर्फबाट घेरिएको स्थितिमा छ, किनभने उसका लागि धेरै थोक राम्रो भइरहेको छैन् । इंग्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानको सिटीले न्युकासलको सामना गर्दैछ र त्यसमा प्रतिकुल नतिजा आए, हुन सक्छ, उसको हात यो सिजन रित्तो रहनेछ । यस्तो किन पनि हुन सक्छ भने लिभरपुलले दोस्रो स्थानमा रहेर सिटीलाई निर्दयीपूर्वक पछ्याइरहेको छ । दुई टिमबीच अन्तर भनेको खालि एक अंक न हो ।
सिटीलाई एकाएक गाह्रो भएको युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडविरुद्धको खेल गुमाएपछि नै हो । खेलको अन्तिम मिनेटसम्म दुई गोलले अगाडि रहेको रियल अन्तत: समग्रमा ६–५ ले पराजित रह्यो । यो सिटीका खेलाडीका लागि मानसिक रूपमा ठूलो धक्का थियो । अझ खासमा रियलको जित आफैमा चमत्कारीपूर्ण थियो । चमत्कारी पनि कति भने रियल त्यो दिन कसरी र किन जित्यो भने दाबी ठोक्न पनि कसैलाई सजिलो छैन् ।

यस्ता जितका कारण हुँदैनन् । रियलविरुद्धको खेल निर्धारित समयमा खुरुखुरु हारेको भए, कुरै बेग्लै हुने थियो । अब यसको असर घरेलु लिगमा त पर्छ नै । यसै साता पनि लिभरपुलले शनिबार खेल्नेछ र त्यसपछि मात्र उसले न्युकासलको सामना गर्नेछ । लिभरपुलले टोटनहमलाई हराएर सिटी फेरि अर्को दबाबमा पर्नेछ । गत महिना लिभरपुलविरुद्धको एफएकप सेमिफाइनल गुमाउन अगाडिसम्म सिटी खुबै अनुकुल स्थितिमा थियो, उसको सामु तीन उपाधिको अवसर थियो ।
तर अहिले यो अवसर एकै उपाधिमा झरेको छ र यो लिग मात्रै हो । सिटीलाई खालि मज्जा के तथ्यमा रहने छ भने योर्गन क्लोपको लिभरपुलले टोटनहमको आथित्य गर्दा त्यो सजिलो खेल भने पक्कै रहने छैन् । हुन सक्छ, यो खेलमा लयमा फर्कने प्रयासमा रहेको टोटनहमले लिगकै समीकरण तलमाथि पार्न सक्नेछ । सिटीका लागि लिग जित्ने गणितीय समीकरण भने खुबै सामान्य छ, उसले चार खेल खेल्न बाँकी छ र यी सबै खेल जित्ने हो भने उसलाई कसैले केही गर्न सक्दैन् ।
यस्तो भए, सिटी पछिल्ला पाँच सिजनमा चौथो पल्ट लिग उपाधि जित्न सफल हुनेछ । ग्वार्डिओला आफै मान्छन्, अब कुनै प्रकारको सानो भुलचुक पनि सह्य हुने छैन् । र, उनी के पनि दाबी गर्छन् भने रियलविरुद्धको खेलमा बेहोरेको मानसिक पीडा भुल्न उनका खेलाडी सक्षम भने छन् । उनी भन्छन्, ‘हामीलाई एक दुई दिन चाहिएको छ, आफूलाई सम्हाल्न । त्यसपछि त हामी फेरि ब्युँझिने छौं ।’ लिगलाई एकछिनका लागि बिर्सेर कुरा गर्ने हो भने पनि सिटीका लागि च्याम्पियन्स लिग फलामको चिउरा नै सावित भइरहेको छ ।

ग्वार्डिओला सिटी आएको, अथवा भनौं, सिटीले उनलाई अनुबन्ध गरेको कारण यही च्याम्पियन्स लिग जित्नकै लागि हो । तर उनी यही काममा सफल भइरहेका छैनन् । गत सिजन मात्रै त हो, सिटी फाइनलसम्म पुगेको, तर त्यसमा पनि माथ खानु परेको थियो । यही दबाबले त हो, घरेलु लिगमा पनि खेल तलमाथि हुने । त्यो भनेका सिटी चारैतर्फबाट घेरिनु जस्तै त हो । ग्वार्डिओला र सिटी यस घेरावन्दीबाट कसरी फुत्किन्छन्, त्यो हेर्न खुबै रमाइलो हुनेछ ।
–एएफपीको सहयोगमा ।
















