काठमाडौं । एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपमा नेपालले पाकिस्तानलार्इ पराजित गरेको छ । समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० गोल अन्तरले हराएको हो । थाईल्याण्डको चोनबरी रंगशालामा नेपालकाे फराकिलाे जितमा निशा थाेकरले ह्याट्रिक गरिन् ।
खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो । सम्झना लावतीले ३२ औ मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन् ।
दोस्रो हाफमा नेपालले थप आक्रमक खेल पस्कियो । पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको नेपालका लागि चौथो गोल पुजा रानाले गरिन् । ४८ औ मिनेटमा कर्नरबाट आएको बललाई उनले पोस्टको दिशा दिईन् । त्यसको ६ मिनेटपछि गोलकिपर बिट भएको अवस्थामा उनले ब्यक्तिगत दोस्रो गोल गरिन् ।
५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गरिन् । उनैले ७४ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७–० को स्थितीमा पुर्याएकी थिईन् । ८५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गरेकी थिईन् । खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन् ।
जितसंगै नेपाल प्रतियोगिताको दोस्रो चरणमा प्रवेशमा पुगेको छ । समुह चरणमा नेपाल र थाईल्याण्डको समान ६ अंक भएको छ । भारतको ३ अंक छ । पाकिस्तान अंक विहिन हुदै घर फर्किएको छ । थाईल्याण्ड आयोजकको हिसावको प्रतियोगितामा छनोट भईसकेको छ ।
आजै सवाँ ६ बजे थाईल्याण्ड र भारतबीच समुह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुनेछ ।