काठमाडौं। लाओसमाथि ९–० को जित निकाल्दै एएफसी महिला एसियन कप छनोट २०२६ मा सुखद् सुरुआत गर्दा गोल पोस्टमा अञ्जना रानामगर थिइन्।
प्रतियोगिताकै कमजोर टोली भएको कारण उनलाई कुनै प्रहार रोक्नुपर्ने अवस्था नै सिर्जना भएन। त्यसैले होला उनी आराममा देखिइन्। अर्को खेलमा नेपालले श्रीलंकाविरुद्ध ८–० को जित निकाल्दा पनि अञ्जनाले नै सुरुआती ११ मा स्थान बनाइन्।
कमजोर टोलीसँग खेल्दा यसअघि पनि नेपाली प्रशिक्षकको रोजाईमा अञ्जना नै पर्थिन्। त्यसैले सबैलाई लागेको थियो उज्बेकिस्तानजस्तो बलियो टोलीसँग खेल्दा नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा नै पोस्टमा फर्किइन्छिन्।
तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुआती ११ सार्वजनिक गर्यो तब दुई खेलका सफलता रम्नेभन्दा धेरै प्रशिक्षक प्याट्रिक डी वाइल्डेको रणनीतिमा प्रश्न उठाउने भए। आखिर किन युरोपेली लिगको समेत अनुभव बटुलिसकेकी अञ्जिलालाई खेलाइएन?
अञ्जिलाले पछिल्लो तीन वर्षदेखि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानी सम्हाल्दै आएकी थिइन्। उनको आत्मविश्वास र अनुभव टिमको मेरुदण्डजस्तै थियो। तर, यो प्रतियोगिताभर उनी बेञ्चमा रहिन्।
तीनवटा खेल सकिए। तर, उनलाई मैदानमा उतारिएन। कप्तानी जिम्मेवारी पनि सावित्रा भण्डारी ‘साम्बा’लाई दिइयो। आखिर किन त? एन्फा महासचिव किरण राई यो विषय सामान्य लिन्छन्। भन्छन्, ‘उनी प्लेइङ ११ मा नपरेपछि उपकप्तानलाई कप्तानी जिम्मेवारी दिइएको हो।’
तर, यो त प्राविधिक उत्तर भयो। त्यसमा अञ्जिलाई खेलाउन नपर्ने कारण उल्लेख थिएन। अर्कोतर्फ अञ्जानले उनीभन्दा उत्कृष्ट प्रदर्शन देखाएको पनि होइन। उनले त कमजोर विपक्षी हुँदा हाइसन्चो पाएकी हुन्।
नेपालले तेस्रो खेल उज्बेकिस्तानसँग खेल्दा अञ्जिला बेञ्चमै थिइन्। जित्नैपर्ने अन्तिम खेलमा अञ्जनाको वास्तविक क्षमता देखियो। दोस्रो मिनेटदेखि नै उनले गोल खान थालिन्।
११औं मिनेटमा नेपाल २–० ले पछाडि परिसकेको थियो। तर, निशा ठोकरको स्थानमा प्रीति राईलाई मैदान पठाउँदा प्रशिक्षक प्याट्रिकले अञ्जिलाको अभाव र अञ्जनाको गल्ती महसुस नै गरेनन्।
धन्न सावित्रा थिइन् र नेपालले पुनरागमन गर्दै निर्धारित समयमा खेल ३–३ मा सक्यो। तर, पेनाल्टी सुटआटमा समेत अञ्जना चुकिन् र नेपालले २६ वर्षपछि एसियन कपमा फर्किने अवसर गुमायो। योसँगै ओलम्पिक र फिफा विश्वकप खेल्ने मौकासमेत खोसियो।
अञ्जिलाको अनुपस्थितिले धेरै कुरा प्रस्ट पार्छ। टिममा अब परिवर्तन भइरहन्छ। ‘स्टारडम’ भएका खेलाडी पनि बेन्चमा बस्न सक्छन्। तर, अञ्जिलाजस्तो सिनियर खेलाडी टोली र कप्तानी जिम्मेवारीमा फर्किन्छन् त? अनि सावित्रा नै अबको नेपाली टोलीकी कप्तान हुन् त?
यो विषयमा अझै अन्यौलता छ। यता जिम्मेवार निकायमा बसेका महासचिव राई पनि यसको जवाफ प्रस्ट रूपमा दिन चाहँदैनन्। उनी त यो विषयलाई अझै गिजोल्ने मुडमा देखिन्छन्। भन्छन्, ‘हामी टिम र प्रशिक्षकसँग छलफल गरेर कप्तान को भन्नेबारे निर्णय लिन्छौं।’ समयअनुसार जिम्मेवारी फेरिनु सामान्य हो। तर, जिम्मेवारी फेरिएको वा नफेरिएको स्पष्ट जानकारी नदिनु चाहिँ गुम्राहमा राख्न हो। जुन एन्फाले गरिरहेको छ।