पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाईटन्सलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा सन्दीप लामिछानेको टिम विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिपेन्द्र सिंह ऐरीको धनगढीले पुरै २० ओभरमा अलआउट हुँदै १८२ रन बनाउन सक्यो । धनगढीले दिएको लक्ष्यसहित केहि बेरमा विराटनगरले ब्याटिङ गर्नेछ ।
धनगढीका लागि इंग्ल्यान्डका खेलाडी पिटर ट्रेगोले अर्धशतकीय पारी खेले । खराब सुरुवात गरेको धनगढीको इनिङस उकास्न पिटरले ५३ रनको योगदान दिए । उनले कप्तान दिपेन्द्र सिंह ऐरीसंग मिलेर चौथो विकेटको लागि ६० रनको साझेदारी गरे । दिपेन्द्र २९ रनमा आउट भए ।
यस्तै अन्तिम अर्डरमा ब्याटिङ गर्न आएका सौरभ खनालले विस्फोटक ब्याटिङ गर्दै ४१ रन जोडे । उनले १३ बलमा २ चौका र ५ छक्का प्रहार गरे । धनगढीका सन्दीप जोरा १२ रनमा आउट हुँदा रोबिन क्षेत्री १० रनमा आउट भए ।
विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । त्यस्तै जाइद खान, सन्दीप लामिछाने,किशोर महतो र सुनिल धमलाले समान एक/एक विकेट लिए ।
अघिल्लो खेल गुमाएको विराटनगर र धनगढी आजको खेल जित्दै पहिलो जित निकाल्ने योजनामा रहेका छन् । पहिलो खेलमा विराटनगर पोखरा पल्टनसंग ५८ रनले पराजित भएको थियो । यस्तै धनगढी हुलास काठमाडौं रोयल्ससंग १७ रनले पराजित भएको थियो । त्यसैले उपाधि होड कायम राख्न दुवैलाई जितको खाँचो छ ।
अंक बिहिन विराटनगर चौथो र धनगढी पुछारमा छ । समान २ अंक जोडेको बुटवल शीर्ष काठमाडौं दोस्रो र पोखरा तेस्रो स्थानमा छ ।