बेसीसहर । बुद्ध युथ क्लबले लमजुङको बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
बिहीबार भएको खेलमा घनपोखरा युवा क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै बुद्धले सुखद सुरुआत गरेको हो ।
बुद्धको जितमा फाकुल्ने अबायोनीले ह्याट्रिक पूरा गरे । सुनिल श्रेष्ठको नाममा दुई गोल रह्यो ।
खेलको २५ औं मिनेटमा फाकुल्नेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा सुनिलले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ४० औं मिनेटमा फाकुल्नेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।
सुनिलले ४६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बुद्धको अग्रता ४-० को बन्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा फाकुल्नेले ह्याट्रिक पूरा गर्दै बुद्धलाई फराकिलो जित दिलाए ।
आगामी पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।