काठमाडौं । चेल्सीका डिफेन्डर मार्कोस अलन्सोले चेल्सीसंग नयाँ सम्झौता गर्न आफु तयार रहेको बताएका छन् । स्पेनका लेफ्ट ब्याक अलन्सोले स्टामफोर्डमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।
उनी सन् २०१६ मा प्रिमियर लिग क्लब चेल्सी आएका थिए । वर्तमान प्रशिक्षक माउरिजियो सर्रीको नेतृत्वमा उनले आफुलाई प्रमाणित गरिरहेका छन् ।
उनको सम्झौता सन् २०२१ अघि सकिने छैन । अलान्सोले क्लबले पेश गरेको नयाँ प्रस्ताव अनुसार सम्झौता नविकरणकालागि आफु इच्छुक रहेको खुलाएका हुन् ।
'म चेल्सीमा निकै खुसी छु । पक्कैपनि क्लबपनि म संग खुसी हुनुपर्छ । मसंग अझै २ बर्ष समय बाँकी छ । उनीहरुले सम्झौता नविकरणकालािग प्रस्ताव गरेका छन् ।' उनले भने ।
'हामी यस बिषयमा छलफल गरिरहेका छौ । छलफल सकारात्मक दिशातर्फ उन्मुख छ । सबै चिज राम्रो भएमा यस महिनाको अन्तिममा सम्झौता नविकरण हुनेछ ।' उनले थपे ।
'मेरो बुबाले यस बिषयमा बुझिरहनु भएको छ । मेरोतर्फबाट कुरा राखिरहनुभएको छ ।' उनले भने, 'मसंग अझै २ बर्ष बाँकी छ । म २७ बर्षको भएको छु । म मेरो सम्झौता नविकरण गर्न गईरहेको छु ।'
चेल्सीमा एलान्सोले दुई ईटालियन प्रशिक्षकको नेतृत्वमा खेलेका छन् । जसमा एन्टोनियो कोन्टे र सर्री रहेका छन् । तर दुवैको तरिका फरक छ । कोन्टेले ३ डिफेन्डर राखेर खेल्छन् भने नयाँ प्रशिक्षक सर्री ४ डिफेन्डरमा अभ्यस्त छन् ।