काठमाडौं । भुटानमा सम्पन्न साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको उपविजेता बनेको नेपाली महिला टोली बुधबार स्वदेश फर्किएका छन् ।
नेपाली टोली भुटान एयरबाट अपरान्ह नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायतले स्वागत गरेका थिए ।
गत आइतबार भएको च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसंग १ - ० ले पराजित भएर उपविजेता बनेको थियो । च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपाली टोली उपविजेता बनेको थियो ।
स्वदेश फर्किएपछि बोल्दै नेपाली टोलीका प्रशिक्षक हरी ओम श्रेष्ठले रेफ्रीले बंगलादेशको पक्ष लिएको कारण फाइनलमा हार बेहोरेको प्रतिकृया दिए ।
'हामीले राम्रो गरेका हौ । तर, हामीलाई रेफ्रीले साथ दिएन । रेफ्री बंगलादेशको पक्षमा भयो,' प्रशिक्षक श्रेष्ठले भने ।
यस्तै नेपाली टोलीका कप्तान सरु लिम्बुले गोल स्कोरमा समस्या आउदा फाइनलमा पराजित भएको बताईन् ।
एन्फाले उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई ५०/५० हजार दिने एन्फाले घोषणा गरिसकेको छ ।