काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ ।
मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा बल पोसेसनमा पकड जमाएपनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन । उसले पाएको केहि मौकालाई गुमाएको थियो । श्रीलंकाले पनि केहि गोलको अवसर खेर फालेको थियो ।

भारतको यो लगातार दोस्रो बराबरी हो । यस अघि भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।
यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । भारत तेस्रो स्थानमा रहेको छ ।
श्रीलंकाको यो पहिलो एक अंक हो । चौंथो स्थानको श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ ।
श्रीलंका अघिल्लो दुई खेलमा पराजित भएको थियो ।
भारतको बराबरीले नेपाललाई फाईदा पुगेको छ ।
नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेपाल फाइनल नजिक रहेको छ ।
