पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

काठमाडौं। बंगलादेशको घरेलु फुटबलको परम्परागत प्रतियोगिता फेडेरेसन कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र विंगर आयुष घलानसम्मिलित बंगलादेश पुलिस पराजित भएको छ।
कुमिल्लाको शहर धिरेन्द्रनाथ दत्त रंगशालामा मंगलबार सम्पन्न समूह ‘बी’को खेलमा मोहमेडानले बंगलादेश पुलिसलाई ३–२ ले हराउँदै विजयी सुरुआत गरेको हो।
लिग च्याम्पियन भए पनि गत वर्ष फेडेरेसन कपको समूह चरण पार गर्न नसकेको मोहमेडानले यसपटक भने सानदार सुरुआत गरेको छ। चार दिनअघि च्यालेन्ज कपमा बसुन्धरा किङ्ससँग हारेको मोहमेडानले पुलिसविरुद्ध पुनरागमन जित निकाल्यो।
पहिलो हाफमा पुलिस २–१ ले अगाडि भए पनि दोस्रो हाफमा दुई गोल थप्दै मोहमेडान ३–२ ले विजयी भयो। यस खेलमा मोहमेडानका घानाली फरवार्ड सामुएल बोएटाङ् चम्किए। उनले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे।
यो उनको मोहमेडानका लागि पहिलो र यसै सिजनको पहिलो ह्याट्रिक हो। गत सिजन रहमतगञ्जका लागि खेलेका उनले २१ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ता बनेका थिए। पुलिसका लागि ईसा फइसल र ड्यानियलले पहिलो हाफमा एक–एक गोल गरेका थिए।
फेडेरेसन कपमा १० टोली सहभागी छन्। दुई समूहमा विभाजित टोलीले समूह चरणमा चार–चार खेल खेल्नेछन्। चार खेलपछि हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
फेडेरेसन कप सकिएलगत्तै शुक्रबारबाट लिगको पहिलो चरण सुरु हुनेछ। तर, पहिलो चरणका केही खेलपछि राष्ट्रिय टोलीको हङकङविरुद्धको तयारीका कारण घरेलु लिग करिब तीन हप्ताभन्दा बढी स्थगित हुनेछ। एसियन कप छनोटअन्तर्गत हङकङविरुद्धको (होम–अवे) खेलका लागि २९ सेप्टेम्बरदेखि राष्ट्रिय टोलीको क्याम्प सुरु हुने सम्भावना छ।