यो वर्ष एनएसएल नहुने हो?

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८२ सम्मको सार्वजनिक गरेको नयाँ क्यालेन्डरमा नेपाल सुपर लिग (एनएसएल) चौथो संस्करणको मिति उल्लेख नहुँदा अन्यौलता सिर्जना भएको छ।
एन्फाले मंगलबार आगामी ६ महिनाका लागि विभिन्न १६ वटा प्रतियोगिताको फुटबलका क्यालेन्डर सार्वजनिक गरेको थियो।
एन्फाले यो वर्ष ‘ए’ डिभिजन लिगसहित एन्फा महिला च्याम्पियनसिप, सहिद स्मारक महिला लिग, महिला सुपर लिग, एन्फा प्रेसिडेन्ट लिग, एन्फा महिला लिग, ‘सी’ डिभिजन लिग, एन्फा यु–१६ युथ र १८ लिगजस्ता घरेलु फुटबलका कार्यक्रम आयोजना गर्ने मिति सार्वजनिक गरेको छ।
तर, निजी व्यापारिक घरानाबाट सञ्चालन हुँदै आएको एनएसएललाई भने कुनै मिति नै छुटाइएको छैन। किन त ? खेलापाटीको उक्त जिज्ञासामा एन्फा प्रवक्ता सुरेश शाह भन्छन्,‘चौथो संस्करण आयोजना गर्न सेप्टेम्बरदेखि नोभेम्बरको समय दिएका थियौं। तर, उहाँहरूले योजना नै ल्याउनु भएन। त्यसैले अहिले एनएसएललाई बाहिर राखेर हाम्रो मात्रै क्यालेन्डर सार्वजनिक गरेका हौं।’

काभ्रेको धुलिखेलमा गत मेमा सम्पन्न एन्फाको साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै एनएसएलको चौथो संस्करण आयोजना गर्न सेप्टेम्बरदेखि नोभेम्बरको समय दिएको थियो। तर, सेप्टेम्बर सकिन लागिसक्दा पनि आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)ले एनएसएल सञ्चालन गर्न कुनै चासो देखाएन।
हुन त सन् २०२१ देखि सञ्चालनमा आएको एनएसएलको तेस्रो संस्करणलाई एन्फाले दिँदै आएको मिति नदिएपछि निकै पछाडि धकेलिएको थियो। गत अप्रिल (बैशाख)मा मात्रै उक्त संस्करण सकिएको थियो। त्यसैले एनएसईएमले कुनै चासो नदिएको एन्फाका कम्पिटिसन डिरेक्टर सञ्जीव मिश्र बताउँछन्।
खेलपाटीसँग भन्छन्,‘सेप्टेम्बर र नोभेम्बरमा अन्तर्राष्ट्रिय क्यालेन्डर पनि प्याक छ। त्यो हुँदाखेरि उसले गर्न सक्ने अवस्था नै भएन।’ एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले भियतनामसँग ९ र १४ अक्टोबरमा दुई खेल खेल्दैछ। नेपालले अक्टोबर ९ मा बिन दुंग रंगशालामा ‘अवे’ खेल खेल्नेछ। हो ची मिन्ह सिटीको थों न्हाट रंगशालामा १४ अक्टोबरमा ‘होम म्याच’ खेल्नेछ।
नोभेम्बर १८ मा भने नेपालले मलेसियासँग ‘होम म्याच’ खेल्ने तय छ। त्यसैले मिश्र ‘ए’ डिभिजनको क्लबसँगको असोज २६ गते तय भएको बैठक पश्चात् मात्रै एनएसएललाई नयाँ मिति दिन सकिने बताउँछन्।
उनी भन्छन्,‘हामीले एनएसएललाई हटाएका होइनौं। ए डिभिजन लिगको मिति टुंगिएपछि मात्र खाली समय मिलाएर फ्रेन्चाइज लिगलाई मिति दिन सकिन्छ। अघिल्ला वर्षहरूमा पनि सेप्टेम्बर–नोभेम्बरमा गराउने गरी मिति दिएका थियौं। तर, यसपालि ढिला गरेर अप्रिलमा लिग भयो।’
तर, क्यालेन्डरमा एनएसएलको नाम नआउनुले यसपटक लिग हुने नहुने शंका झन् बढाएको छ। यसको सट्टा एन्फाले पहिलोपटक महिला फ्रेन्चाइज लिग गर्न फागुन ९ देखि १६ गतेसम्म समय तोकेको छ।
एनएसएल २०७७ सालमा कोरोना महामारीका बीच निजी लगानीकर्ताले सुरुआत गरेको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता हो। सुरुआतदेखि नै विवादबीच पनि एनएसएल निरन्तर हुँदै आएको थियो। तर, यसपटक एन्फाको क्यालेन्डरमै मिति नआउनुले खेलाडी, क्लब र लगानीकर्ताहरू शंकामा पर्नु स्वाभाविक देखिन्छ।