नहार्ने रियल
-1758679340663.webp&w=3840&q=75)
काठमाडौं। किलियन एमबाप्पेले तीन मिनेटभित्र दुई गोल गर्दा र फ्रान्को मास्तान्तुओनोले पहिलोपटक गोलको स्वाद चाख्दा रियल मड्रिडले मंगलबार स्पेनिस लिगमा लेभान्टेविरुद्ध ४–१ को जित निकालेको छ। यससँगै मड्रिडले नयाँ सिजनको विजयी यात्रालाई अझै जारी राखेको छ।
भिनिसियस जुनियरले पनि गोल गरेपछि मड्रिडले यो सिजन लगातार छैटौं जित दर्ता गर्यो। ‘हामीले सम्पूर्ण खेल खेलेका छौं,’ प्रशिक्षक जाबी अलोन्सोले भने,‘यो लयलाई निरन्तरता दिनुपर्छ। यो मात्र सुरुआत हो, हामी अझै राम्रोसँग प्रतिस्पर्धा गर्न चाहन्छौं।’
एमबाप्पेले ६४औं मिनेटमा पेनाल्टीमार्फत (पनेंका शैलीमा) तेस्रो गोल गरे। उनीमाथि पेनाल्टी क्षेत्रमा फाउल भएको थियो। त्यसको दुई मिनेटमै (६६औं मिनेटमा) गोलकिपरलाई छल्दै चौथो गोल थपे।
यो सिजन मड्रिडका लागि उनको सात खेलमा आठौं र नवौं गोल थियो। फ्रान्सको राष्ट्रिय टोलीका लागि उनले यसअघि दुई खेलमा पनि दुई गोल गरेका थिए।
यो समर रिभर प्लेटबाट अनुबन्ध गरिएको १८ वर्षीय मास्तान्तुओनोले ३८औं मिनेटमा बक्सभित्रबाट प्रहार गर्दा टप कर्नरमा पुगेर गोल भएको थियो। अर्जेन्टिनी फरवार्डले मड्रिडका लागि पाँचौं खेल सुरु गर्दै गोलको खाता खोलेका हुन्।
‘म यो क्षणको प्रतीक्षा गरिरहेको थिएँ,’ उनले भने,‘यसले मलाई टोलीभित्र अझ आत्मविश्वास दिलाउँछ।’ भिनिसियसले २८औं मिनेटमा गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए।
उनले लामो समयपछि गोल गरेका हुन्। अघिल्लो खेलमा प्रशिक्षक अलोन्सोप्रति असन्तुष्टि व्यक्त गरेका थिए। तर, भिनिसियसको प्रदर्शनलाई अलोन्सोले निणायक भने।
लेभान्टेले ५४औं मिनेटमा एट्टा एयोंगको नजिकबाट हानेको हेडिङमार्फत अन्तर घटाएको थियो। त्यो खेलमा लेभान्टेको पहिलो टार्गेटमा लागेको प्रहार पनि थियो।
यो जितसँगै मड्रिड सिजनको सुरुआतमा लगातार जित निकाल्ने एक्लो टोली बनेको छ। यसअघि पनि मड्रिडले च्याम्पियन्स लिगको पहिलो खेलमा मार्सेलीलाई पराजित गरेको थियो।
यस नतिजाले मड्रिडको अग्रता पाँच अंकमा पुर्याएको छ। पछिल्लो सिजनको विजेता बार्सिलोनाको १३ अंक छ। बार्सिलोना बिहीबार प्रोमोटेड ओभिएदोको मैदानमा उत्रिनेछ। मड्रिडको अर्को खेल सहर प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग हुनेछ।
यस सिजन शीर्ष डिभिजनमा प्रोमोटेड लेभान्टेले सुरुआती चार खेलमा जित निकाल्न सकेको थिएन। तर, अघिल्लो चरणमा गिरोनामाथि ४–० को जित दर्ता गरेको थियो।
खेलमा अन्तर्राष्ट्रिय सांकेतिक भाषाको दिवस मनाउन दुवै टोलीका खेलाडीहरूले आफ्नो नाम औंलाले लेख्ने (फिङ्गरस्पेलिङ) अक्षरले छापिएको जर्सी लगाएका थिए।