आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन

काठमाडौं। भारतीय स्पिनर तथा अलराउन्डर रविचन्द्रन आश्विनलाई आईएलटी–२० को पहिलो अक्सनमा सबैभन्दा महँगो खेलाडीमा सूचीकृत भएका छन्।
दुबईमा अक्टोबर १ मा हुने अक्सनका लागि ३९ वर्षे आश्विनको आधार मूल्य १ लाख २० हजार अमेरिकी डलर तोकिएको छ।
हालै अन्तर्राष्ट्रिय क्रिकेट र इन्डियन प्रिमियर लिग (आइपीएल)बाट सन्न्यास लिएका आश्विन विश्वभरका फ्रेन्चाइज क्रिकेटमा सहभागी हुन इच्छुक छन्। आईएलटी–२० को प्रारम्भिक अक्सन सूचीमा उनको आधार मूल्य मात्रै ६ अंकमा पुगेको छ। यदि टोलीले छनोट गरेमा यो उनको पहिलो विदेशी फ्रेन्चाइज लिग हुनेछ।
अक्सनको प्रारम्भिक सूचीमा ८०० खेलाडी छन्, जसमा आश्विनसहित २४ जना भारतीय समावेश छन्। हरेक फ्रेन्चाइजले आफ्नो ‘विस–लिस्ट’ बुझाएपछि यसै साताभित्र अन्तिम सूची तयार गरिनेछ।
६ टोली सहभागी हुने चौथो संस्करण डिसेम्बर २ देखि सुरु भई जनवरी ४ मा सकिनेछ। आश्विनले पूरा सिजन खेल्ने प्रतिबद्धता जनाएका छन्। त्यसपछि उनी अस्ट्रेलियाको बिग ब्यास लिगमा समेत देखिन सक्नेछन्, जहाँ कम्तीमा चारवटा टोली उनलाई अनुबन्ध गर्न इच्छुक छन्।