अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो
२०२५ सेप्टेम्बर २४, बुधबार
-1758681897109.jpg&w=3840&q=75)
काठमाडौं। बंगलादेशको घरेलु फुटबलको परम्परागत प्रतियोगिता फेडेरेसन कपमा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङसम्मिलित फोर्टिस एफसी हारबाट जोगिएको छ।
किङ्स एरिनामा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशको बसुन्धरा किङ्सले फोर्टिस एफसीसँग १–१ को बराबरी खेलेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको तेस्रो मिनेटमा किङ्सका ब्राजिलियन फरवार्ड डोरिएल्टनले गोल गर्दै अग्रता दिलाए। तर, खेलको ८५औं मिनेटमा किङ्सका भरपर्दा डिफेन्डर तारिक काजीको आत्मघाती गोलका कारण फोर्टिस खेलमा फर्किन सफल भयो।
खेलकै क्रममा किङ्सका कप्तान तपु बर्मन घाइते भई मैदान छाड्न बाध्य भए। उनको चोट कत्तिको गम्भीर छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन। त्यस्तै, किङ्सका इङ्ल्यान्ड प्रवासी खेलाडी क्यूबा मिचेल स्क्वाडमा थिएनन्।