निर्णायक एकिटिके
-1758679869600.webp&w=3840&q=75)
काठमाडौं। ह्युगो एकिटिकेले लिभरपुललाई इङ्लिस लिग कपको तेस्रो चरणमा पुर्याउन निर्णायक गोल गरे पनि उनको खुसी लामो समय टिकेन।
मंगलबार साउथह्याम्पटनविरुद्ध ८५औं मिनेटमा विजयी गोल गरेपछि जर्सी खोलेर उत्सव मनाएका कारण उनलाई दोस्रो पहेंलो कार्ड दिइँदै रातो कार्ड देखाइयो। यससँगै शनिबार क्रिस्टल प्यालेसविरुद्ध हुने प्रिमियर लिग खेलमा उनले गुमाउने भएका छन्।
एकिटिकेले क्लोज–रेन्जबाट गरेको प्रहारले एन्फिल्डमा लिभरपुललाई २–१ को जित दिलायो। दोस्रो श्रेणीको क्लब साउथह्याम्पटनले खेललाई पेनाल्टी सुटआउटतर्फ धकेल्ने प्रयास गरिरहेको अवस्थामा उनले निर्णायक गोल गरेका थिए।
यो गोलसँगै यस सिजन लिभरपुलका लागि आठ खेलमा उनका पाँच गोल पुगेका छन्। एकिटिकेलाई यसै सिजन आइन्स्ट्राख्ट फ्रान्कफर्टबाट ९३.५ मिलियन डलरमा अनुबन्ध गरिएको हो।
लिभरपुलले खेलको अग्रता भने ब्रिटिस रेकर्ड साइनिङ एलेक्जेन्डर इसाकको गोलमार्फत पाएको थियो। १७० मिलियन डलरमा न्युक्यासलबाट अन्तिम दिनमै भित्र्याइएका स्विडिस फरवार्डले ४३औं मिनेटमा पहिलो गोल गरेका थिए। तर, च्याम्पियनसिप (दोस्रो डिभिजन) को १९औं स्थानमा रहेको साउथह्याम्पटनले ७६औं मिनेटमा सेया चार्ल्समार्फत बराबरी गोल फर्काएको थियो।
यो सिजनमा बारम्बार ढिलो गोल गर्दै आएको लिभरपुलले फेरि अन्तिम १० मिनेटभित्रै निर्णायक गोल निकालेर जित सुनिश्चित गर्यो। यो यस सिजन लिभरपुलको छैटौं ढिलो निर्णायक गोल हो।
लिभरपुलका प्रशिक्षक आर्ने स्लोटले एभर्टनविरुद्धको जितपछि पूरै ११ खेलाडी परिवर्तन गरेका थिए। ‘यो सबैभन्दा उत्कृष्ट प्रदर्शन थिएन, नयाँ टोली खेलेपछि त्यस्तो अपेक्षा पनि गर्न सकिन्छ,’ उनले भने।